दिपेन्द्र पुन,दाङ ।
प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।
त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।
उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले गोला प्रथा लागू गरेपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।
अब समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् । आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बन्दैछन् । कार्कीले प्रधानन्यायाधीशका रुपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ । शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्ममिति २०१५ साउन २० गते उल्लेख रहेका कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।