२७ असोज, पोखरा । पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हकीमा घरेलु टोली गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा बिहीबारदेखि भएको प्रतियोगिताको उदघाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले हराएको हो ।
गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाइन् ।
त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।
अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।
Source: onlinekhabar