विद्यार्थीको त्यो अंकमाल – उमा कंडेल

म अंग्रेजी शिक्षक ! काम गर्दै जाँदा मलाई समयले सामाजिक अध्ययन विषयको शिक्षक पनि बनाइदियो। घर बाहिर बस्छु
म। त्यसैले यो पुरै गाउँ मेरो घर जस्तै हो। आफ्नो सम्झे आफ्नो हुने त रैछ नि जुन ठाऊँ पनि। कुनैदिन त्यस्तो समय पनि
आउँछ, हामी आफ्नै घर बिरानो देख्छौँ।
यहाँ विद्यार्थीहरु घरमा खासै पढ्दैनन। छात्रहरुको खेलमा बिशेष रुची छ। छात्राहरु अलिअली गृहकार्य गरेर आउँछन।
उनिहरुको पनि समय धेरै मोबाइलमै बित्छ। केटाकेटी न हुन, हामीले प्रेसर पारेर मात्र कहाँ हुन्छ र ! उनिहरुका लागि
उनिहरु जस्तै भैदिनु, उनिहरुका कुरा सुनिदिनु, सामाजिक संजालमा उनिहरुको पोस्टमा लाइक्/कमेन्ट गरिदिनु, गृहकार्य
नगर्दा पनि माफी दिनु जस्ता शिक्षकका भूमिका आजकलका केटाकेटीलाई स्कुल आउन मन लाग्ने औषधि रहेछ भनेर मैले
राम्ररी बुझ्छु। कक्षा दस र एघारको अंग्रेजी विषय पढाउँदा होस या कक्षा दस अनि बाह्रको सामाजिक अध्ययन तथा
जीवनोपयोगी सिप पढाउँदा नै किन नहोस, सामुहिक कार्य गर्न खुब मन पराउँछन् केटाकेटीहरु। कहिलेकाहिँ त "आज म
पढाउँछु मिस" भन्न पनि पछि पर्दैनन्। जेसुकै भएपनि एउटा शिक्षक हुनु चुनौतीपुर्ण कुरा हो। विद्यार्थीको मनोभावना
बुझेर पढाउनु र पढाउँदा विविधताको सम्बोधन गर्नु हाम्रो कर्तव्य हो। कहिलेकाहिँ पुरै विद्यार्थी केन्द्रित भएर पढाउँदा
पनि त समस्या नआउने हैन नि ! मैले आजसम्म बुझेको कुरा के भने विद्यार्थीले आफ्नो शिक्षक नै सर्वेसर्वा होउन भन्ने
चाहन्छन्। विद्यार्थीको पास वा फेलको नतीजा पुरै शिक्षकको जिम्मा हो भन्ने कुरा जनमानसमा जरा जमाएर बसेकोछ।
रिजल्ट आउन बित्तिकै आम मान्छेको प्रश्न त्यहि हुन्छ: ;के बिषय लाग्यो? कुन मास्टरले पढाउँछ?, बोर्ड परीक्षा आउन छ
महिना अघिदेखि र रिजल्ट आएको छ महिना सम्म हरेक साल त्यहि रिजल्ट कै पिर हुन्छ मास्टरलाई!
यी अनि यस्तै कुराहरु चलिइरहन्छन स्कुल मास्टरको जिन्दगीमा ! मेरो फेसबुकको एउटा स्टाटसमा मेरो एकजना स्कुले
साथीले शिक्षक हुनु भनेको बर्खा याममा गोरु जोतिनु जस्तै हो भनेर लेखिन। मेरो मन कत्ती पनि चसक्क भएन। किनकी
त्यसरी जोतिइँदा पनि गोरुले जुन आनन्द लिइराखेको हुन्छ त्यसको अनुभुति खेतबारीमा छिर्ने हिम्मत नराख्नेहरुको
भागमा पर्दैन। मैले देखेको शिक्षण पेसाको सबैभन्दा राम्रो गहना भनेको विद्यार्थी नै हुन। विद्यार्थी नभए हामी
शिक्षकहरुको के नै अर्थ रहन्छ र !
म कक्षा दसको कक्षा शिक्षक! खै किन हो, मलाई दस कक्षा अलि भिन्न लाग्छ। कक्षा दसलाई हरेक दिन हामीले कक्षाको
गृहकार्य, परियोजना कार्य वा पुनरावलोकन बिहान वा बेलुका स्कुलमै राखेर गराउँछौँ। त्यसो गर्दा खेल्ने वा मोबाइलमा
इन्गेज हुने समय सदुपयोग हुन्छ र सिकाइलाई पनि केहि सहयोग पुग्छ। साउन २९ गते म बिहानै उठेर घरायसी काम
सकेँ अनि आठ बजे स्कुल गएँ। चालीस जना मध्ये जम्मा ३२/३३ जना मात्रै आएका रहेछन। एकाइ दस रिडिङ २ अन्तर्गत
विश्वमा विभिन्न खेलको लोकप्रियता भन्ने पाठको अभ्यास गर्ने काम रैछ अगिल्लो दिनको। उनिहरुले काम गर्दैगर्दा मैले
आवश्यक सहयोग गरेर बाँकी काम उनिहरुलाई नै गर्न छोडिदिएँ। विद्यार्थीहरु पारस्परिक सहयोगमा काम गरिइरहेका
थिए।घरमै काम सकेका र अल्लि टाँठा साथीहरुले अरुलाई सघाइरहेका थिए। मेरो मन खासै फुरुङ्ग थिएन। नौ बजे
कोठामा फर्किएँ अनि खाना खाइवरी फेरि स्कुल गएँ। निरन्तर झरीका कारण एसेम्ब्ली गराउन सकिएन। म कक्षा दसमा
पढाइ सकेर दोस्रो पिरियडका लागि कक्षा बाह्र तिर लागेँ। पल्लो भवनमा जान करिब सय मिटर हिँड्नुपर्थ्यो। बाटो
हिलाम्य भएकाले मलाई अलिक बढी समय लाग्यो। आज एकजना पनि बाहिर छैनन। हिजोअस्ती त मिस पानी खान
जाने, ट्वाइलेट जाने भनेर निस्कन खोज्थे। अनि मैले चाहिँ यो बाहिर निस्कने पिरियड होइन, अहिले सर्ट ब्रेकमा जाने
भनेर बाटैबाट फर्काउनु पर्थ्यो। सिँढी उक्लेर कक्षाकोठाको ढोका के खोल्न पाएकि थिएँ, एकैपटक ठुलो स्वरमा Happy
Birthday! सुनेर म अक्क न वक्क भएँ। मैले हातको छातालाई कतै राख्न नपाउँदै शर्मिला म्याडमले अँगालो हाल्नुभयो।
त्यसपछी छात्राहरु पालैपालो अँगालो हालेर शुभकामना व्यक्त गर्दा म यति भावुक बनेँ, त्यो क्षण शब्दमा व्यक्त गर्न
सक्दिन। ति केटीहरुको बिचमा एउटा केटा छिर्यो अनि ह्याप्पी बर्थ्डे आमा भन्दै गोडा छोयो। अनि झन मैले आँफुलाई
सम्हाल्न सकिन। मैले एमफिल उत्तिर्ण गरेको उपलक्ष्यमा अनि जन्मदिनको अवसरमा छुट्टाछुट्टै केक तयार गरेका रहेछन।
मेरो जीवनको नितान्त नयाँ अनुभव थियो त्यो। नानीहरुको त्यो आलिङ्गन अझैपनि मेरो मनमस्तिष्कमा घुमिइरहेछ।

फेरि तेस्रो पिरियडमा कक्षा दसमा आएँ। मेरो जन्मदिन पहिल्यै थाहा नपाएपनि यिनीहरुले होममेड केक तयार गरेछन।
मेरो जन्मदिनका लागि त्यति धेरै दुःख गर्नुपर्ने जरुरी थिएन। मैले पहिले नै जानकारी पाएको भएपनि उनिहरुलाई
रोक्नेथिएँ। यी सबै विद्यार्थीहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु अनि बीस बर्षको शिक्षणको अबधिका सम्पुर्ण
विद्यार्थीहरुलाई सम्झन चाहन्छु। आखिर तिमीहरु छौ र पो म छु !

लेखक हेम मा.वि. म्याग्दीमा कार्यरत हुनुहुन्छ । 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.