मिथिलाञ्चमा मङ्गलबारदेखि छठ पर्व विधिवत् रूपमा सुरु

मिथिलाञ्चमा मङ्गलबारदेखि छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । यस पर्व मनाउनेहरू आज माछा, मरुवा (माछा र कोदो) को परिकार नखाइ चाेखाे बस्ने चलन रहेको छ । यस पर्व मनाउने क्रममा भोलि (बुधबार) नहाय खाय विधि मनाइन्छ भने बिहीबार निराहर व्रत बसी साँझमा खरना मनाइन्छ । त्यस्तै शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाँउदो सूर्यलाई अर्घ्य दिएर पारायण गरी छठ पर्वलाई समापन गरिनेछ ।

खासगरी प्रकृतिलाई पूजा गरिने भएकोले यस पर्वले धनी, गरिब जस्ता विभेद, कुरीति एवम विसङ्गतिलाई अन्त्य गर्नसमेत सहयोग गर्दै आएको गौशाला नगरपालिका १२ शिक्षिका लीला कुमारीले बताउनुभयाे ।

छठपर्व वर्षमा दुई पटक मनाइए पनि कात्तिक महिनामा मनाइने छठपर्वको एक अलग्गै विशेषता छ, याे पर्व मिथिलाञ्चलकाे घरघरमा मनाइन्छ ।

पर्वको तयारीमा जुटेका व्रतालुहरू अहिले पूजा सामग्रीको बन्दोबस्त गर्नुको साथै जलाशयको घाट सजाउनमा व्यस्त रहेका छन् । हप्तौँ दिन अगाडिदेखि यहाँका इनार, पोखरी, तालतलैया, नदीलगायतका जलाशयको घाट सजाउन व्यस्त भएका हुन् । सद्भाव अनि भातृत्वको प्रतिक पनि हाे छठ ।

छठपर्वको मुख्य पूजा हुने दिन (सन्ध्या अर्घ्य) का दिन जलाशयलाई दुलही झैँ सिङ्गारिने चलन छ ।

छठपर्वको कारण जातीय भेदभाव एवं छुवाछुत केही क्षणकाे लागि अन्त्य भएको महसुस हुने गरेको मानव अधिकारकर्मी एवं महोत्तरीका पत्रकार राकेश चौधरीको भनाइ छ ।

समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम अर्थात् गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् भन्ने मान्यतालाई अन्त्य गर्न यस पर्वले सन्देश दिन्छ ।

याे पर्व विधि पुर्‍याएर मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी, जलाशय, कुण्डमा गइ यस दिन छठ पूजा गर्दछन् ।

षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंस हुँदै छठ भएको बताइन्छ । पहिले विशेषगरी तराई क्षेत्रमा मनाइने याे पर्व अहिले हिमाल,पहाडमा पनि मनाइन्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा (नहाई खाय), दोस्राे दिनलाई ‘खर्ना’, तेस्राे दिनलाई ‘सँझिया अर्घ्य’ र अन्तिम दिनलाई ‘विहनीया अर्घ्य’ पारायण भनिन्छ ।

अरबाकाे दिन छठ मनाइने नदी, ताल वा पोखरीको किनार तथा सडक सफा गर्ने, घाँसहरू खुर्किने र पानीलाई सफा गर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारका रूपमा गाडिएको केराका थम्बा जम्मा गरेर तिनलाई बाँसले उनेर पानीमा नडुब्ने डुङ्गा जस्ताे बनाइन्छ र त्यसैमा चढेर लठ्ठीले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेस्राे दिन साँझमा व्रतालुहरू जलाशयमा गइ आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिने गर्छन् अनि चौथो दिन बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । यसरी छठ पर्व मनाइँदै गर्दा सामूहिक रूपमा मैथिली र भाेजपुरी भाषाकाे पारम्परिक गीत सङ्गीत गाउने चलन छ ।

छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफूल, वतासाजन्य मिठाइ जस्ता सामग्रीहरू आवश्यक पर्छ । ती वस्तुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ । यसरी विविध सामग्रीयुक्त प्रसादले सजिएको छैंटीलाई श्रद्धापूर्वक आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरू फिँजाएर राखिन्छ र पानीमा पसेर एक–एक सामग्री सुपलीमा राखेर डुबुल्की मार्दै व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । भोलिपल्ट बिहान पनि त्यसरी नै जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ । पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरू गरिएकाे गाथा पनि छ । त्यस्तै महाभारतमै कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभाव स्वरुप भएको जनउक्ति छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनसूयाले गरेको छठ व्रतको फल स्वरूप उनलाई पतिले सद्व्यवहार गर्न थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको मत पनि छ ।

Back to top button