‘आत्महत्या र अश्वास्थामा’ – आबेश कुमार श्रेष्ठ

  • आबेश कुमार श्रेष्ठ
  • काठमाडौ , नेपाल

हाम्रो मस्तिष्कमा दिनको बाह्र हजार देखि साठी हजारसम्मका विचारहरु प्रस्फुटन हुन्छन् । त्यही विचारहरुले हामीलाई कहिलेकाहीँ जिन्दगीको अस्तित्व नै सन्देहमा पार्ने गर्छन् । मस्तिष्कमा कयौं कुराहरु सलबलाउन थालेपछि मान्छेहरुको endorphins, dopamin र oxytocin हर्मोन निकै हलचल ल्याइदिन्छ । जुन हलचलले जिन्दगीमा निकै उथलपुथल निम्त्याउन सक्छ ।

  • समस्याहरु व्यक्तीको जिन्दगीमा एकपछि अर्को आएको नै हुन्छ । त्यही समस्याहरुबाट मान्छे भाग्न चाहन्छ । तर मान्छेलाई त्यही समस्याहरुले अब्बल बनाउँदै जान्छ । तर मान्छे त्यो बुझ्दैनन् । पत्थरले तब मात्रै मुर्तिको रुप लिन्छ जब त्यो पत्थरले घनको र छिनोले दिएको चोट सहन सक्छ । अनि मान्छे तब मान्छे हुन्छ जब समस्याले उसलाई चुनौती दिन्छ । अनि हामी किन समस्याबाट भाग्ने । हामी समस्या देख्दा किन कुलेलम ठोक्ने ? समस्यासँग लड्न सकिन्छ । जिन्दगीलाई चुनौती दिँदै बाच्न सकिन्छ ।
    हर पल मान्छेहरु कतै न कतै एक्लो महसुस गरेको नै हुन्छ । कतै न कतै उर्जा थप्ने मान्छेको आवश्यकता परेको नै हुन्छ । उत्कट गतिमा बत्तिएको यो मोर्डन युगमा मान्छेहरुले एक्लो महसुस गर्नु कुनै नौलो कुरा नै होइन । सबैको आआफ्नै गति हुन्छ । तर कहिलेकाहीँ जतिसुकै दृढ भएर आफ्नो गन्तव्यमा तल्लीन भएपनि पाइलाहरु लडखडाउने सक्छन् । मुटु थरथर काँप्न सक्छ । अनि त्यो बेला मान्छेहरुले एक्लो महसुस गर्छन् । बाच्ने सुतीक्ष्ण भन्दा वितृष्ण प्रस्फुटन हुन थाल्छ । मान्छेलाई त्यतिबेला जसो गरेपनि सन्तृप्त मिल्न सक्दैन । फिल्म नै हेरोस् । जतिसुकै मोटिवेशनल भिडियो नै हेरोस् उसलाई केही फरक पर्दैन । उसको मनमा कतै न कतै आत्महत्या गर्ने विचार आएको नै हुन्छ । जब आत्महत्या सोच प्रस्फुटन हुन थाल्छ तब उसलाई जिन्दगी देख्दा विरक्त लाग्दै जान्छ ।
    प्रेम वियोग, आर्थिक चाप, शैक्षिक चाप, समाजिक मानसम्मान, घरपरिवारको चाप आदि इत्यादी आत्महत्याका प्रमुख कारण हुन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार चालीस सेकेन्डमा यो विश्वमा एक जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरेको छ । तर आजभोलि कोरोना भाइरस(कोभिड-१९)ले गर्दा मान्छेहरु धेरैले आत्महत्या गर्न थालेका छन् । हर वस्ती हर टोलमा यस्तो गतिविधि बढेको छ ।
    जिन्दगी भनेको जन्म र मृत्यु मात्रै होइन । जन्म र मृत्युको बीच हामीले गरिएको कार्य नै जिन्दगी हो । तर मान्छेहरु अलिकति समस्यामा पर्दा भाग्न चाहन्छन् । आत्महत्या गर्न चाहन्छन् । आत्महत्या गर्नु भनेको मोरेर मुक्ती नपाउनु जस्तै हो । श्रीकृष्णको श्रापले अश्वस्थामा मुक्त हुन नसके झैँ आत्महत्या गरेर यो दुनियाँबाट क्षणिक मुक्त भएर सधै भर अश्वस्थामा झैँ पृथ्वीमा घुमेको झैँ हो । त्यसैले आत्महत्या र अश्वस्थामा एउटै हुन् ।
    हर समस्याको हल हुन्छ । समस्याको एउटा कमजोर पोइन्ट हुन्छ । तर मान्छेले त्यो हल निकाल्न खोज्दैन । कमजोर पोइन्ट देख्न सक्दैन । मान्छे आफूमा नै एउटा असल मित्र हो त्यसैले एक्लो हुँदा आफैंले आफैंलाई सम्झाउनु पर्छ । धैर्यधारन गर्न सिकाउनु पर्छ । मृत्यु नै सबै कुराको सावधान होइन । बाच्नु नै सम्पूर्ण कुराको सावधान हो ।
    मान्छेहरुले तपाईंको खुट्टा तान्ने छन् केही भएन उनीहरुलाई हाँसीहाँसी खुट्टा तान्न दिनुस्, मान्छेहरुले तपाईंको मजाक उडाउने छन् केही भएन उनीहरुलाई हाँसीहाँसी आफ्नो मजाक उडाउन दिनुस्, मान्छेहरुले तपाईंलाई अरुको नजरमा गिराउन चाहन्छन् हाँसीहाँसी उनीहरुलाई तपाईंलाई गिराउन दिनुस्, मान्छेहरुले तपाईंसँग नाता तोड्न चाहन्छन् उनीहरुको अगाडि हाँसीहाँसी नाता तोड्न दिनुस्, मान्छेले तपाईंको असुन्दरता र पहिरनको खिल्ली उडाउन खोजे हाँसीहाँसी खिल्ली उडाउन दिनुस् । हाम्रो जिन्दगी हामीले बनाउने हो उनीहरुले बनाउने होइन । भाग्य कर्मले बनाउने हो मान्छेको कुराले बन्न होइन । किन बेक्कारमा रिसाएर तपाईंको अस्तित्व घटाउनु हुन्छ । त्यसैले हाँस्नु होस् । रमाइलो गर्नुहोस् । तिरस्कार गर्नेलाई प्रेम गर्नु होस् । समस्यालाई स्नेहले सुमसुम्याउनुहोस् । हर परिस्थितिलाई सकारात्मक देख्नु होस् । आफ्नो बाटो हिँड्नु होस् । खेलमैदानमा हल्ला गर्ने दर्शकहरु हुन् खेलाडीहरु होइनन् त्यसैले तपाईंको जिन्दगीको खेलाडी तपाईं हो त्यसैले मज्जाले आफ्नो जिन्दगीको खेल खेल्नुस् । गगनमा उड्नुस् तपाईंलाई कसैले रोक्न सक्दैनन् । समस्यालाई मुस्कुराएर सामना गर्नुस् । ‘आइज समस्या लडौं आज’ भन्दै हिँड्नुस् । जिन्दगीमा जति बाचिन्छ त्यही हाँसेर बाचौं । केही सकारात्मक कुराहरु पढ्नुहोस् । जिन्दगीको मज्जा लुट्नु होस् । किन आत्महत्या गरेर अश्वस्थामा हुनु छ र ।
    अन्त्यम भगवत गीताको सार लेख्दै छु :-
    “तिमीले के लिएर आएका थियौं र तिमीले हरायौं ? तिमीले के पैदा गरेका थियौं र नाश भयो ? तिमीले केही लिएर आएका थिएनौं । जे पायौं, यहीँबाट पायौं । जति दियौं, यहीं नै दियौं । खालि हात आएका थियौं, खालि हात नै गयौं, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौं । यहीँ खुसी नै तिम्रो दुःखको मूल कारण हो । परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौं, त्यही जीवन हो । एक क्षणमै तिमी करोडपति बन्दछौं, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौं । मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौं ।”
    -सकारात्मक सोचौं, सकारात्मक भयौं !!
Back to top button