लघुकथा: लुकेको पिडा

लघुकथा: लुकेको पिडा
– सुदर्शन कंडेल
” यो पाली त बिहे गर्ने होलास नि कान्छा ” अमर मास्टरले भुजेल कान्छालाई सोधे ।
भुजेल कान्छा गाउँकै साह्रै सोझो मान्छे हो । सुकुम्बासी बस्तिको पल्लो छेउमा फुसले बारेको घरमा ४२/४५ वर्सको बाउआमा, आफुभन्दा २/३ वर्ष जेठो दाजुभाउजू सँगै बस्छ १८ वर्षे कान्छा ।
बाहिरबाट फुसले बारेको घरलाई फुसको नै पार्टेसन गरेर उनिहरुले भित्र ३ कोठा बनाएका छन । एउटा कोठामा खाना पकाउने र बाउआमा सुत्ने गर्छन, एउटा कोठामा एक वर्ष अगाडि मात्रै बिहे गरेका दाजुभाउजु अनि एउटामा कान्छा सुत्ने गर्छन । दाजु भाउजू र उ सुत्ने कोठामा टिन काटेर बनाईएको ढोका जडित छ ।

अमर मास्टरले अचानक गरेको बिहे सम्बन्धि प्रश्नले भुजेल कान्छालाई एक फेर चसक्क घोच्यो , एक छिन सोच्यो अनि भन्यो ” होईन मास्टरसाब, बिहे त अब ढलान गरेको पक्की घर बनाएसी मात्रै गर्ने हो ।”
” बाले त्यही घरमा बिहे गरेर तिमारु दाजुभाईलाई जन्माए हुर्काए, दाईले त्यही घरमा बिहे गरेको वर्ष दिन भैसक्यो । तँ लाटालाई चाहिँ किन चाहियो ढलानवाला फराकिलो घर? ” अमर मास्टरले ओठे जवाफ फर्काए ।

” त्यही भएर त भनेको नि मास्टरसाब, पोहोर दाईले बिहे गरेदेखी न त बाउआमा, न त म, न त दाईभाउजुले नै राम्ररी सुत्न पाका छन। हाम्रो जस्तो घरमा गाह्रो हुँदो रैछ मास्टरसाब बुढाबुढी सुत्न ।” भुजेलकान्छाले लुकेको पीडा सुनायो ।

भरतपुर-१४, चितवन ।

Back to top button