तनहुँमा २४ वटा केन्द्रबाट ६ हजार २८२ परीक्षार्थीले एसइइ परीक्षा दिने

 

०३ चैत्र,
तनहुँमा २४ वटा केन्द्रबाट ६ हजार २८२ परीक्षार्थीले एसइइ परीक्षा दिने

माध्यमिक शिक्षा परीक्षा समन्वय समिति तनहुँले २४ वटा केन्द्रबाट एसइइ परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा आइतबार बसेको समितिको बैठले यही चैत्र ६ गतेदेखि सञ्चालन हुने परीक्षा व्यवस्थित, मर्यादित, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने निर्णय गरेको हो।

उक्त बैठकले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को लागि यस जिल्लामा कायम भएका परीक्षा केन्द्रहरुमा साविक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संसोधन सहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यमिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्ष नियुक्ति गर्ने, परीक्षा केन्द्र रहेका विद्यालयमा प्रधानाध्यापक माध्यमिक तहको स्थायी शिक्षक नभएमा र त्यस्ता विद्यालयमा माध्यमिक तहको अन्य स्थायी शिक्षक भएमा स्थायी शिक्षक मध्यबाट केन्द्राध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको छ ।

परीक्षा केन्द्र रहेका विद्यालयमा माध्यमिक तहको स्थायी शिक्षक नभएमा जिल्लाका अन्य विद्यालयबाट कम्तिमा माध्यमिक द्धितीय श्रेणीका शिक्षकलाई केन्द्राध्यक्षमा नियुक्ति गर्ने मापदण्ड निर्धारण गरी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई केन्द्राध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमकान्त शर्माले जानकारी गराए ।बैठकले सम्वन्धित स्थानीय तह भित्र रहेका परीक्षा केन्द्रमा परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न सम्वन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई आवश्यक सहजीकरण र समन्वय गरिदिन अनुरोध गरेको छ ।

परीक्षा व्यवस्थित रुपमा अगाडी बढाउन परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत तथा अन्य कर्मचारीबाट नियमित रुपमा अनुगन तथा सुपरीवेक्षण गर्ने निर्णय बैठकले गरेको इकाइ प्रमुख शर्माले बताए ।
परीक्षा अनुगमन गर्नको लागि सम्वन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख र शिक्षा अधिकृतलाई खटाउनुका साथै परीक्षा मर्यादित एवं शान्तिपूर्ण रुपमा सञ्चालन गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीवाट सुरक्षाको भरपर्दा प्रवन्ध मिलाउने निर्णय गरिएको छ।

परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सहयोगको लागि शिक्षक, अभिभावक, वुद्धिजिवी, राजनैतिक दल, मिडियाकर्मी र सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।

केन्द्राध्यक्ष बाहेक परीक्षामा खटिने अन्य कसैले पनि मोवाइल फोन परीक्षा केन्द्र भित्र लैजान निषेध गर्ने, निरीक्षक र सहायक केन्द्राध्यका मोवाइल सेटहरु प्रश्नपत्रको प्याकेट खोल्नु भन्दा पहिला स्वीचअफ गरी झोलामा राखी केन्द्राध्यक्षको नियन्त्रणमा राख्नु पर्ने, प्रश्नपत्रको प्याकेट खोल्ने अवस्थामा वा खोलीसके पछि परीक्षा केन्द्र भित्र मोवाइल फोन भेटिएमा तत्काल जफत गरी सुरक्षा निकायमा बुझाउनुका साथै परीक्षा केन्द भित्र मोवाइल फोन प्रयोग गर्ने निरीक्षक र विद्यार्थीलाई निष्कासन गर्ने समेत निर्णय गरिएको छ ।

परीक्षार्थीहरुलाई सहजरुपमा परीक्षा केन्द्र भित्र प्रवेश गराउन र परीक्षा हलमा व्यवस्थित बसाइको लागि प्रत्येक दिन परीक्षा सुरुहुनु भन्दा कम्तिमा पनि ३० मिनेट अगाबै परीक्षा केन्द्रमा पुगिसक्ने व्यवस्था गर्न सबै विद्यार्थी तथा अभिभावकहरुलाई सूचित गर्ने र सम्वन्धित अभिभावक तथा विद्यालयहरुलाई समेत तोकिएको समय भित्र विद्यार्थीलाई परीक्षा केन्द्रमा पुर्‍याइ दिन अनुरोध गरिएको छ ।

जिल्लाको १० वटै स्थानीय तहमा परीक्षा केन्द्र कायम गरिएको र ती केन्द्रबाट ६ हजार २८२ परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरिएको छ । यस्तै, कारागारमा थुनामा रहेको एक जना परीक्षार्थीलाई दमौली स्थित सत्यवती माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको समन्वय इकाइका प्रमुख शर्माले बताए ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker