२५ भदौ, धनगढी । जेनजी आन्दोलनपछि भारतसँग जोडिएका सुदूरपश्चिमका प्रमुख सीमा नाकामा चेकजाँच कडाइ गरिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीसहितका नाकामा नेपाली र भारतीय दुवै सुरक्षाकर्मी उच्च सतर्कतामा छन् ।
अब भारतबाट फर्किने नेपाली नागरिकलाई परिचयपत्र अनिवार्य गरिएको छ भने भारततर्फ जानेको लागि भारतीय आधार कार्ड वा अन्य आधिकारिक कागजातको सक्कल देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
रोजगारीका लागि भारत जान पुगेका कैलाली, गौरीगंगाका रोशन साउदले आधार कार्डको फोटोकपी पर्याप्त नभएकाले प्रवेश नपाएको गुनासो गरे । त्यस्तै, भारतबाट फर्किएका अछामका बाली भूलले सामान्यभन्दा बढी चेकजाँच भएकाले सास्ती भएको बताए ।
नेपाल प्रहरीका अनुसार, हालै सुदूरपश्चिमका आठ जिल्ला कारागारबाट करिब १४ सय कैदीबन्दी भागेका छन्। उनीहरू सीमाबाट भाग्न सक्ने आशंकामा नाकामा कडाइ गरिएको हो। सुरक्षाकर्मीले उनीहरूको खोजी तीव्र पारेका छन् ।
नाकामा कडाइ भएपछि दुवै तर्फका सर्वसाधारणको आवतजावत प्रभावित भएको छ। निषेधाज्ञा र कर्फ्यूका कारण भारतबाट फर्किने केही नागरिक बाटोमै अलपत्र परेका छन्। सीमानाका बाहेकका क्षेत्रमा भने स्थिति सामान्य रहेको छ । नेपाली सेनाको व्यापक उपस्थितिले धनगढीलगायतका सहरी क्षेत्रमा सडक सुनसान देखिएका छन् ।