नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार भेटिएको छ । चिनियाँ अनुसन्धान टोलीले दैलेख जिल्लाको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको खबरले नेपाली नागरिकहरूमा नयाँ आशा पलाएको छ । नेपालमा केही छैन र केही हुँदैन भन्ने नैराश्यताको बादले समाजलाई ढाकेको बेला त्यही बादल चिर्ने गरी दैलेखबाट सुखद समाचार आएको हो ।
केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री भएका बखत चीनसँग गरिएको सम्झौतापछि अनुसन्धानको बाटो खुलेको थियो। नेपालका कतिपय काममा ढिलासुस्ती गरेका चिनियाँले ग्यास अनुसन्धान चाहिँ द्रुततर गतिमा गरे । त्यसैले त २०८० वैशाखबाट चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले सुरु गरेको अनुसन्धानको प्रारम्भिक नतिजा यति छिटै आइपुग्यो । यही वर्ष विस्तृत र पूरा प्रतिवेदन आउने अपेक्षा पनि छ ।
४० वर्षअघि नै नेपालमा के कस्ता खानीहरू छन् पेट्रोलियम पदार्थ भनेर अध्ययन सुरु गरिएको थियो। त्यति बेला नै पनि नेपालमा त्यसको सम्भावना देखिएको थियो । सरकारले पेट्रोलियम अन्वेषण परियोजना पनि नबनाएको होइन । तर यतिका वर्ष खास उपलब्धिमूलक नतिजा हाता लागेका थिएनन् । मोरङमा पेट्रोलियम पदार्थको अन्वेषण पनि ४० वर्षअघि नै गरिएकोमा निराशा हात लागेको थियो । तर यसपालि भने आशा देखिएको छ । दैलेखबाट आएका विवरणहरू यतिधेरै उत्साहपूर्ण छन् कि नेपाली अर्थतन्त्रमा आत्मनिर्भर बनाउन यातायातका साधनदेखि भान्छाको ऊर्जा र इन्धनका लागि नेपालले आफ्नै उत्पादन प्रयोग गर्न पाए देशले आर्थिक रूपमा छलाङ मार्न धेरै समय लाग्ने छैन ।
अब दैलेखको ग्यास खानीले नेपाल लाइ ठूलै योगदान गर्न सक्छ । विज्ञहरूले अन्तिम प्रतिवेदन आएको वर्ष दिनभित्रै दैलेखको ग्यासको व्यावसायिक उत्पादन थाल्न सकिने बताउँछन् । अनुसन्धानकै लागि पनि चीन आफैंले३ अर्ब रुपैयाँ खर्च गरेको छ ।
व्यावसायिक उत्पादन भनेजस्तो सजिलो पक्कै होइन । र, लगानी नेपालको आफ्नै बुताले भ्याउला नभ्याउला ? त्यसमा नेपालले विदेशी लगानी भित्र्याउन हिच्किचाउनु हुँदैन । विदेशीसँगको साझेदारीमा नेपालले ग्यास उत्पादन थाल्न सक्छ । अहिले नेपालले गर्ने आयातमध्ये १८ प्रतिशत पेट्रोलियम पदार्थकै हिस्सा हुन्छ । २०८०÷८१ मा २ खर्ब ६८ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो। खाना पकाउने ग्यासमात्रै ५५–६० अर्बको भित्रने गरेको छ । दैलेखमा भेटिएको मिथेन ग्यास खाना पकाउन मिल्ने वा सवारी साधनहरूमा प्रयोग गर्न मिल्ने कुन प्रकारको हो, सोही अनुसार प्रयोग गर्न सकिन्छ । भन्छन् विज्ञहरू रकेट पनि दैलेखमा भेटिएकै शैलीको ग्यासबाट उड्छ ।
भनेपछि त्यस्तो प्रज्ज्वलन र शक्तिशाली ऊर्जाको प्रयोग नेपालले गर्न ढिला गर्नु हुँदैन। दैलेखका चारवटा कुवामा भेटिएको नेपाललाई ५० वर्षलाई पुग्ने ग्यासबाहेक पनि नेपालमा अरू थुप्रै खानीहरू छन् । यस्ता प्राकृतिक खानीहरूको सदुपयोग गर्न सके भारत र चीन लगायतका देशमा पनि निर्यात गर्न नसकिने होइन । खानी त अरू पनि थुप्रै होलान् । अहिलेलाई पत्ता लागेकै र सम्भावना देखिएको ग्यासको व्यावसायिक उत्पादनमा केन्द्रित हुनुपर्छ । जसले रासायनिक मलसमेतको उत्पादनमा योगदान गर्न र नेपालको दिगो विकाश मा टेवा पुग्न सक्छ ।