Gorkha Sansar

स्थानीय सँगै नेपाली सेनाद्धारा आँदिमुल मन्दिर परिशरमा सरसफाई

डिपि अधिकारी /कार्तिक १९
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.१ मा रहेको प्रशिद्ध धार्मिक स्थल आँदिमुल मन्दिर परिशरमा सरसफाई गरिएको छ । हरिबोधनी एकादशीको दिन मेला भर्न आएका भक्तजन र दर्शकहरुले प्रयोग गरेका फूल, टपरी प्रयोग सकिएको पूजा सामग्री, प्लाष्टिकजन्य, सिसाजन्य लगाएत फोहोरलाई सरसफाई गरी चिटिक्क पारिएको छ ।
आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, वडा नं.१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, नेपाली सेनाको रुरु भैरव दल गण भानु भन्सारका गणपति प्रमुख सेनानी हिमाचल जंग शाहको नेतृत्वको ६८ जनाकाे टोली, वडा सदस्य कुमार मगर, आँदिमुल मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष रमेश थापा मगर, सचिव कुमार पोख्रेल लगाएत समितिका पदाधिकारी, आँदिमूल आमा समुह, पुष्पाञ्जली आमा समूह, मित्रता युवा क्लव लगाएत स्थानीयको सहभागितामा सरसफाई गरिएको हो ।
मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी पर्वको दिन नौ वटा फूलको डोली मन्दिर परिसरमा तारिएको थियो । मनले चिताएको पूरा गर्ने देवीको रुपमा मानिदै आइएको आँधीबाराही देवीको मन्दिरमा जिल्लाका विभिन्न स्थानबाट बाजागाजा सहित ल्याइएको फूलको डोली तारिएको हो ।
विगतका बर्षहरुमा कोरोनाका कारण भक्तजनहरुको कम उपस्थिति रहेकोमा यस मन्दिरमा यसबर्ष करिब दश हजार भक्तजनहरुको भीड लागेको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
आबुखैरेनी गाउँपालिका–१ को याञ्चोक र भुजेलगाउँको बीच अवस्थित ऐतिहासिक एवं धार्मिकस्थल आँधिमूल अर्थात आँधिबाराही मन्दिरमा बर्षेनी मेला लाग्ने गर्दछ ।
मन्दिरमा पूजाअर्चनाको लागि बिहानै देखि भक्तजनहरुको भीड लागेको मन्दिरका पुजारी युवराज मास्की मगरले जानकारी दिए ।

गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमध्ये आँधिमूल आँबुखैरेनी गाउँपालिकाको गहनाको रुपमा रहेकोले सुक्रबार पालिकाले सार्वजानिक विदा समेत दिएको थियो । पौराणीक, ऐतिहासिक, धार्मिक र पिकनिक स्पोटको रुपमा समेत प्रशिद्ध यस स्थानलाई गाउँपालिकाले गुरुयोजनाका साथ विकास गर्ने क्रम चलिरहेको पालिकाका प्रमुख सुक्र चुमानले बताउनु भयो । पृथ्वीराजमार्गको सत्रसयबाट दक्षिण तर्फ करिब २५ मिनेटमा सवारी साधन र ४५ मिनेटको पैदल दुरी पर्दछ भने त्यति नै समयमा याम्पाफाँटबाट पनि मन्दिर पुग्न सकिन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.