Gorkha Sansar

गोरखामा बन्दाबन्दैको पुल ढल्यो, तीन घाइते

गाेेेेेेरखामा निर्माणाधीन पुल ढल्दा तीन जना कामदार घाइते भएका छन्।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो।

पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते सुनिल चौधरीलाई उपचार गर्न काठमाडौं ल्याइएको उनले बताए।

‘दुई जना सामान्य छन्, सुनिल चौधरीको कम्मरमुनिको भागमा चोट छ,’ उनले भने।

उक्त पुल ४३ मिटर लम्बाइको थियो। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो। पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको थियो।

‘टेका राम्रोसँग जमिनमा नअडेका कारण पुल ढलेको हुनसक्छ,’ एसपी अधिकारीले भने।

यो पुल निर्माणको ठेक्का गौरी-पार्वती निर्माण सेवाले पाएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.