काठमाडौं / वर्ष २०८२ नेपाली खेलकुदका लागि उतारचढावपूर्ण भए पनि केही खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै देशको नाम उच्च बनाएका छन् । विशेषगरी व्यक्तिगत खेलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै यो वर्षलाई स्मरणीय बनाएका छन् ।
करातेतर्फ एरिका गुरुङले वर्षभर प्रभावशाली प्रदर्शन गरिन् । उनले कराते वान प्रिमियर लिगमा दुई पटक रजत र एक कांस्य जित्दै इतिहास रचिन् भने मलेसियामा भएको कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जितिन् । उनको प्रदर्शनले नेपाली करातेको स्तर अन्तर्राष्ट्रिय रूपमा स्थापित हुँदै गएको संकेत दिएको छ ।
ट्रेल रनिङमा सुनमाया बुढाले स्पेनमा भएको वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिन् । साथै दक्षिण अफ्रिकामा १०० किमी अल्ट्रा ट्रेल जित्दै विश्व ट्रेल रनिङमा आफ्नो दबदबा कायम राखिन् । प्रिया राईले पनि लगातार दोस्रो पटक एसिया ट्रेल मास्टर्स जित्दै नयाँ कीर्तिमान बनाइन् ।
बक्सिङतर्फ चन्द्र थापा मगरले यूएईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपालको लागि ऐतिहासिक सफलता दिलाए । यो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो ।
एथ्लेटिक्समा सन्तोषी श्रेष्ठले एकै वर्ष पाँच राष्ट्रिय कीर्तिमान बनाउँदै आफूलाई उत्कृष्ट धाविका सावित गरिन् । उनले दक्षिण एसियाली प्रतियोगितामा समेत पदक जितिन् र म्याराथन तथा हाफ म्याराथनमा नयाँ रेकर्ड कायम गरिन् ।
टेनिसमा युवा खेलाडी शिभाली गुरुङले अस्ट्रेलियन ओपन अन्तर्गतको जुनियर प्रतियोगितामा सहभागिता जनाउँदै सेमिफाइनलसम्म पुगेर इतिहास रचिन् । उनी यस्तो स्तरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बनिन् ।
क्रिकेटतर्फ दीपेन्द्र सिंह ऐरीले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै दुई अर्धशतक प्रहार गरे । उनको प्रदर्शनले नेपालको विश्वकप यात्रा स्मरणीय बनायो ।
मोटरस्पोर्ट्समा आशिष भारतीले श्रीलंकामा भएको एसिया प्यासिफिक च्याम्पियनसिपमा स्वर्ण जित्दै नयाँ इतिहास बनाए । अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।
भलिबलमा सुमित्रा रेग्मीले फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाइन् र उत्कृष्ट खेलाडी घोषित भइन् ।
यस्तै, नेपाली महिला ब्लाइन्ड क्रिकेट टोलीले पहिलो पटक आयोजना भएको टी-२० विश्वकपमा उपविजेता बन्दै ऐतिहासिक सफलता हासिल गर्यो । सीमित स्रोतसाधनका बाबजुद टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिच्न सफल भयो ।
समग्रमा, वर्ष २०८२ नेपाली खेलकुदका लागि उपलब्धिमूलक रह्यो । यी खेलाडीहरूको सफलता आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।