गोरखा संसार
तनहुँ, चैत्र ३० — तनहुँको भानु नगरपालिका–३ स्थित खहरे बगैंचामा रहेको श्री मर्स्याङ्दी आधारभूत विद्यालयको शैक्षिक उन्नयनका लागि धार्मिक तथा सामाजिक अभियान सुरु हुने भएको छ। विद्यालयको भौतिक पूर्वाधार तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यले “श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३” आयोजना गरिने भएको हो।
विद्यालय व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने उक्त महायज्ञ आगामी बैशाख ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। महायज्ञमा प्रसिद्ध कथा वाचक तथा समाजसेवी दीपक प्रसाद पौडेलको मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुने कार्यक्रम तय गरिएको छ, जसले धार्मिक वातावरणलाई थप ऊर्जावान बनाउने विश्वास लिइएको छ।
आयोजकका अनुसार महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई शिक्षा सुधारको अभियानसमेत हो। कार्यक्रममा कथा प्रवचनका साथै विविध धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गरिनेछन्। महायज्ञबाट संकलित सम्पूर्ण सहयोग रकम विद्यालयको भवन निर्माण, शैक्षिक सामग्री व्यवस्थापन तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा खर्च गरिनेछ।
स्थानीयवासीहरूमा उत्साह थपिएको यस कार्यक्रमले शिक्षा र धर्मलाई एकै सूत्रमा बाँध्दै सामाजिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई पुण्य आर्जन गर्नुका साथै विद्यालय विकासमा हातेमालो गर्न हार्दिक आह्वान गरेका छन्।