गोरखा । ऐतिहासिक, धार्मिक र राष्ट्रनिर्माणसँग जोडिएको पहिचान बोकेको गोरखा अब फेरि एकपटक राष्ट्रिय चेतनाको केन्द्र बन्ने संकेत देखिएको छ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षदेखि “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेसँगै गोरखाबाट नयाँ आध्यात्मिक अभियानको बहस सुरु भएको छ।
केन्द्रका अनुसार, यो अभियान परम्परागत कर्मकाण्डमा सीमित नहुने बताइएको छ। धर्मलाई व्यवहार, नीति, अनुशासन र राज्य सञ्चालनसँग जोड्दै समाजमा नैतिकता र चेतनाको पुनर्स्थापना गर्ने दीर्घकालीन रणनीति यस अभियानको मूल उद्देश्य रहेको छ।
केन्द्रले देशका विभिन्न स्थानमा शक्तिपीठ स्थापना गरेर “दैविक ऊर्जा सन्तुलन” को आधार तयार गरिसकेको दाबी गरेको छ। केन्द्रका संरक्षक अनन्त प्रसाद का अनुसार कुशेश्वर, पालुङ, विजयपुर, भकुण्डेबेशी र राम्चेवेशीमा विभिन्न शक्तिपीठ स्थापना भइसकेका छन्।
अब गोरखामा निर्माणाधीन “राजविद्या शक्तिपीठ” लाई सबै ऊर्जा केन्द्रहरूको केन्द्रबिन्दु बनाउने योजना अघि सारिएको छ। शिखरडाँडा मा निर्माण भइरहेको उक्त पीठको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ।
शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म–नीतिलाई प्रभावकारी बनाउन “दैविक ऊर्जा” अपरिहार्य रहेको दाबी गर्दै आध्यात्मिक शक्ति र राज्य व्यवस्थाबीच समन्वय नभएसम्म दीर्घकालीन शान्ति सम्भव नहुने बताए।
उक्त पीठमा गोरक्षनाथ बाबा र गोरखकाली लगायतका देवी–देवताका मूर्ति स्थापना गरिने योजना छ, जसले गोरखालाई साधना र श्रद्धाको प्रमुख केन्द्र बनाउने अपेक्षा गरिएको छ।
नमुना गुरुकुल : शिक्षा र संस्कारको नयाँ मोडेल
राजविद्या शक्तिपीठ निर्माण सम्पन्न भएसँगै “नमुना गुरुकुल” स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यो गुरुकुलले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक दृष्टिकोणसँग जोड्दै वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिकता र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षा प्रदान गर्ने केन्द्रले जनाएको छ।
दीर्घकालीन लक्ष्यअनुसार गोरखाबाट सुरु हुने यो मोडेल क्रमशः देशभर विस्तार गरिने बताइएको छ।
गोरखा : विश्व आध्यात्मिक केन्द्र बन्ने लक्ष्य
केन्द्रले गोरखालाई पुनः अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, योग र अनुसन्धान केन्द्र बनाउने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरेको छ। ऐतिहासिक रूपमा गुरु गोरखनाथ सँग जोडिएको यस भूमिलाई विश्वभरका साधक, चिन्तक र अनुसन्धानकर्ताको गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
यदि योजना सफल भएमा धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र वैदिक संस्कृतिको पुनर्जागरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
अभियानका संरक्षक अनन्त प्रसादले यो पहल कुनै एक संस्था मात्र नभई सम्पूर्ण राष्ट्रप्रेमी नागरिकको साझा अभियान भएको उल्लेख गर्दै सहभागिताका लागि आह्वान गरेका छन्।
उनले भने, “गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचानतर्फ फर्काउने र विश्वलाई शान्ति, योग र आत्मज्ञानको सन्देश दिने लक्ष्य राखेको छ।”