काठमाडौं । हराउँदै गएको गाउँघरको रोधी संस्कृति र मौलिक लोकभाकालाई पुनः जीवन दिने उद्देश्यसहित साहित्यकार–संगीतकार महेश्वर पन्त को नयाँ लोकगीत “सुनको धारो चाँदीको पँधेरो” सार्वजनिक गरिएको छ।
परम्परागत नेपाली जनजीवन, प्रेम र संस्कृतिको मिठास बोकेको यस गीतमा लोकप्रिय आवाजहरू खेम सेन्चुरी र समीक्षा अधिकारी ले स्वर दिएका छन्। गीतमा शब्द र संगीत स्वयं पन्तकै रहेको छ, जसले मौलिकता र सृजनात्मकताको झल्को दिन्छ।
गीतको म्युजिक भिडियो शिव विक को निर्देशनमा तयार भएको हो। भिडियोमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी को अभिनय देख्न सकिन्छ भने कलाकार रमेश दाहाल र स्वयं स्रष्टा पन्त अतिथि भूमिकामा प्रस्तुत भएका छन्।
यो गीत कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान को उत्पादन हो, जसले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ। यसअघि पनि प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा” जस्ता गीतमार्फत लोकसंगीतमा योगदान दिँदै आएको छ।
गीत सार्वजनिक कार्यक्रममा वक्ताहरूले यसलाई मौलिक लोकसंस्कृतिको पुनर्जागरणसँग जोड्दै प्रशंसा गरेका छन्। सभापति मदनराज थापा ले गीतले लोकसंगीतलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे भने प्रमुख अतिथि राजेन्द्र के.सी. ले यसले लोप हुँदै गएको रोधी संस्कृतिलाई पुनर्जीवित गर्ने बताए।
कार्यक्रममा विष्णुमाया कट्टेल लगायतका वक्ताहरूले पनि गीतलाई नेपाली लोकसंगीतको उत्कृष्ट नमूनाका रूपमा व्याख्या गरे। कार्यक्रम ऋषभदेव घिमिरे ले सञ्चालन गरेका थिए।
स्रष्टा पन्तले भने, “नेपाली लोकगीत र साहित्यलाई विश्वस्तरमा पुर्याउने मेरो अभियान निरन्तर जारी रहनेछ,” भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
भिडियाेकाे लागि तलकाे लिङ्क हेर्नुहाेलाः