पालुङटार । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत मेयर कप (९–ए साइड) फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नगरपालिका भित्रका वडा नं. १ देखि १० सम्मका प्रत्येक वडाबाट एक–एक टिम सहभागी हुनेछन्।
प्रतियोगिताका लागि टिम दर्ता २०८३ वैशाख २ गतेसम्म गर्न सकिनेछ। दर्ताका लागि खेलाडीहरूको फोटो, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्रसहित शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने नगरपालिका कार्यालयले जनाएको छ।
प्रतियोगिताको टाइ–सिट वैशाख ३ गते बिहान १० बजे निकालिनेछ। प्रतियोगिताअन्तर्गतका खेलहरू वैशाख ४ र ५ गते माझाटार खेल मैदान, ठाटीपोखरीमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ६०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई रु ४०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रत्येक टिममा १३ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १५ सदस्य रहने व्यवस्था गरिएको छ।
नगरपालिकाले यस प्रतियोगितामार्फत युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।