काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिलाई संसद्को कुनै एक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने अधिकार रहेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सम्बोधन गर्न लागेका हुन् ।
यसैबीच, आजै राति १२ बजेदेखि संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
सरकारले आगामी बजेट अधिवेशनको तयारीका लागि हिउँदे अधिवेशन अन्त्य गर्न लागेको जनाएको छ । नेपालको संवैधानिक व्यवस्था अनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राष्ट्रपतिसँग रहने भए पनि त्यसका लागि सरकारको सिफारिस आवश्यक पर्दछ ।