Gorkha Sansar

पालुङटार नगरपालिकाको किसानमैत्री पहल: मौरीपालन तालिममार्फत स्वरोजगारमा टेवा

पालुङटार । “दिगो आर्थिक मेरुदण्ड निर्माण” गर्ने लक्ष्यका साथ पालुङटार नगरपालिकाले सञ्चालन गरेको ६ दिने मौरीपालन तालिम कार्यक्रमले स्थानीय किसान तथा वैदेशिक रोजगारीबाट फर्किएका युवामा नयाँ आशा जगाएको छ। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम कार्यक्रमलाई किसानहरूले अत्यन्त सकारात्मक रूपमा लिएका छन्।

नगरपालिकाको कृषि शाखा तथा सामी कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा प्रत्येक वडाबाट १० जना कृषक तथा वैदेशिक रोजगारीबाट फर्किएका १० जना युवाको सहभागिता रहेको छ। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विदेश पलायन हुने प्रवृत्तिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष मान बहादुर पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख विवस चिन्तनको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा नगर उपप्रमुख तथा मौरी विज्ञ तिर्थ कुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। मौरीपालनको महत्व, सम्भावना तथा व्यावहारिक ज्ञानबारे प्रशिक्षण दिइँदै आएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिनुभयो।

तालिममा सहभागीहरूलाई मौरीपालनको वैज्ञानिक विधि, घार व्यवस्थापन, मह उत्पादन तथा बजारीकरण सम्बन्धी सीप प्रदान गरिएको छ। सहभागी किसानहरूको भनाइमा यस तालिमले कम लगानीमा राम्रो आम्दानी लिन सकिने सम्भावना देखाएको छ।

स्थानीय बासिन्दाहरूले पालुङटार नगरपालिकाले कृषि क्षेत्रमा यस्ता सीपमूलक तालिम सञ्चालन गरेर किसानलाई आत्मनिर्भर बनाउने प्रयास प्रशंसनीय रहेको बताएका छन्। विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी आयआर्जनका अवसर सिर्जना गर्नु पालिकाको दूरदर्शी कदमका रूपमा हेरिएको छ।

यस कार्यक्रमले “समृद्ध पालुङटार” को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.