Gorkha Sansar

स्व. उमेश अर्यालको नवौं स्मृति दिवस का अवसरमा दृष्टिबिहिन विद्यार्थीलाई सहयोग

गोरखा — स्वर्गीय उमेश अर्यालको नवौं स्मृति दिवसको अवसरमा सरस्वती माध्यमिक विद्यालयमा दृष्टिबिहिन विद्यार्थीहरूका लागि व्यक्तिगत सरसफाइ सामग्री वितरण तथा सहभोज कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा स्व. अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि उहाँको तस्बिरमा फूलमाला अर्पण गरी सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघनाथ लामिछानेले स्व. उमेश अर्यालका पिता हरिहर अर्यालको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँका अनुसार हरिहर अर्याल विद्यालय स्थापना कालमै शिक्षकको रूपमा सक्रिय रहनुका साथै पछि फ्रान्समा रहँदै पनि विद्यालयप्रति निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँकै पहलमा विसं २०५३/०५४ मा विद्यालयको पहिलो पक्की भवन निर्माण भएको र स्व. उमेश अर्यालको नाममा स्मृति सभाहल निर्माण गरिनु विद्यालयका लागि ठूलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, हरिहर अर्यालले हरेक वर्ष दृष्टिबिहिन विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण र दिवाभोजको व्यवस्था गर्दै आउनुभएको जानकारी पनि कार्यक्रममा दिइयो।
स्व. उमेश अर्यालका मामा विश्वेश्वर कट्टेलको पहलमा आयोजना गरिएको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष ऋषिराम खत्री, सहायक प्रधानाध्यापक, शिक्षक दुर्गा अधिकारी, दृष्टिबिहिन विद्यार्थीका फोकल शिक्षक श्याम भक्त कट्टेललगायतको उपस्थिति रहेको थियो।
हाल उक्त विद्यालयमा ८ जना दृष्टिबिहिन विद्यार्थी अध्ययनरत रहेका छन् भने एक जना दृष्टिबिहिन शिक्षकसमेत कार्यरत छन्।
कार्यक्रमले स्व. उमेश अर्यालको स्मृतिलाई जीवित राख्दै सामाजिक उत्तरदायित्व र मानव सेवाको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्। सोही अवसरमा स्वर्गीय उमेशका मामा कट्टेलले यो कार्यक्रम निरन्तर रुपमा सञ्चालन भइरहने पनि बताउनुभएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.