Gorkha Sansar

‘उद्धार’को आवरणमा असुली धन्दा: संस्था प्रमुख नै पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका पीडितलाई सहयोग गर्ने नाममा खोलिएका केही संस्थामाथि उठ्दै आएका प्रश्नबीच एउटा गम्भीर घटनाले नयाँ बहस जन्माएको छ। वैदेशिक श्रमिकको उद्धार र न्यायका लागि काम गर्ने दाबी गरिएको वैदेशिक रोजगार उद्धार नेपाल का अध्यक्ष इन्द्रलाल गोले नै ठगी तथा अवैध असुली आरोपमा पक्राउ परेका छन्।

प्रहरीले उनलाई काठमाडौंको अन्नपूर्ण चोकबाट नियन्त्रणमा लिएसँगै, ‘उद्धारको नाममा शोषण’ भइरहेको आशंका थप बलियो बनेको छ। प्रारम्भिक अनुसन्धानअनुसार गोलेले वैदेशिक रोजगारीका पीडित, मेनपावर व्यवसायी तथा एजेन्टहरूलाई प्रभावमा पार्दै रकम असुल्ने गरेका थिए।

यति मात्र होइन, उनले आफ्ना समर्थकहरू कार्यालयमा जम्मा गरी मेनपावर कम्पनीहरूमाथि दबाब सिर्जना गर्दै चन्दा उठाउने गरेको आरोप पनि छ। यसले वैदेशिक रोजगारी क्षेत्रभित्रै समानान्तर शक्ति केन्द्र खडा गरी आर्थिक लाभ लिने प्रवृत्ति रहेको संकेत गरेको छ।

विगत केही वर्षदेखि सक्रिय रहेका गोलेले यसै पेशाबाट काठमाडौंमा सम्पत्ति आर्जन गरेको समेत खुलेको छ।

यो घटनाले वैदेशिक रोजगारी क्षेत्रमा काम गर्ने संघसंस्थाहरूको पारदर्शिता र नियमनमाथि गम्भीर प्रश्न उठाएको छ। पीडितको नाममा सञ्चालन हुने संस्थाहरू कति विश्वसनीय छन् भन्ने विषयमा अब सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.