Gorkha Sansar

प्रधानमन्त्री बालेन शाहद्वारा कूटनीतिक ब्रिफिङ: सन्तुलित विदेश नीति र शान्तिमा जोड

 काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित, व्यवहारिक र शान्तिमुखी कूटनीति अपनाउने स्पष्ट संकेत दिएका छन् । पदभार सम्हालेपछि पहिलोपटक उनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई सामूहिक ब्रिफिङ गर्दै नेपालको परराष्ट्र नीतिका प्राथमिकताबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री कार्यालयमा आयोजित उक्त ब्रिफिङमा उनले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्वतर्फ संकेत गर्दै उनले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए ।

उनले विदेशमा रहेका नेपाली श्रमिक र समुदायको सुरक्षा तथा हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । युद्ध तथा अन्तर्राष्ट्रिय तनावका कारण उत्पन्न हुन सक्ने चुनौतीबारे सरकारले नियमित रूपमा परराष्ट्र मन्त्रालयबाट जानकारी लिइरहेको पनि उनले बताए ।

प्रधानमन्त्री शाहले नयाँ जनादेशअनुसार सुशासन, आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा सरकार प्रतिबद्ध रहेको धारणा कूटनीतिज्ञहरूसमक्ष राखे । कार्यक्रममा भारतचीनसंयुक्त राज्य अमेरिकाबेलायत लगायत विभिन्न मुलुकका राजदूतहरूको उपस्थिति रहेको थियो ।

उपस्थित कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपालको विकास र जनहितका काममा सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

यसपटक प्रधानमन्त्री शाहले अघिल्ला सरकारभन्दा फरक अभ्यास गर्दै व्यक्तिगत भेटघाट नगरी सामूहिक कूटनीतिक ब्रिफिङलाई प्राथमिकता दिएका छन् । कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्ने लक्ष्यअनुसार सरकारले प्रोटोकल पालना गर्न विशेष ध्यान दिएको जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.