Gorkha Sansar

पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति

पत्रकारलाई फोटो/भिडियो खिच्न रोक: तनहुँ शाखाद्वारा कडा आपत्ति
दमौली, २४ चैत । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सार्वजनिक कार्यक्रममा पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा तथा जिल्ला प्रशासन कार्यालय तनहुँसँगको सहकार्यमा शुसासनका लागि नागरिक समाज (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध संस्था) कास्कीले मंगलबार दमौलीस्थित व्यास नगरपालिकाको सभाहलमा “भ्रष्टाचार विरुद्धको सहकार्य” नारासहित आयोजना गरेको सुशासनसम्बन्धी कार्यशाला गोष्ठीका क्रममा उक्त घटना भएको हो।
कार्यक्रमका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका प्रमुख/सहसचिव नारायणप्रसाद रेग्मीले आफ्नो धारणा राखिरहेका बेला तस्बिर तथा भिडियो खिचिरहेका पत्रकारलाई एक्कासी ‘अनुमति नलिई फोटो/भिडियो खिच्नु पनि भ्रष्टाचार हो’ भन्दै रोक लगाइएको महासंघले जनाएको छ।
महासंघका शाखा अध्यक्ष डिपी अधिकारी र सचिव कृष्ण न्यौपानेद्वारा जारी संयुक्त विज्ञप्तिमा सार्वजनिक कार्यक्रममा आमन्त्रण गरिएका पत्रकारलाई फोटो तथा भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै जिम्मेवार निकायका उच्च अधिकारीबाट भएको यस्तो व्यवहार निन्दनीय र अस्वीकार्य रहेको जनाइएको छ।
घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै महासंघले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा आगामी दिनमा प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.