Gorkha Sansar

साउदीमा ५० भन्दा बढी नेपाली अलपत्र: ६ महिनासम्म तलब नपाएर भोकै बस्न बाध्य, उद्धारको गुहार

काठमाडौं /  साउदी अरेबियाको रियादस्थित एक निर्माण कम्पनीमा कार्यरत ५० भन्दा बढी नेपाली श्रमिक गम्भीर समस्यामा परेका छन् । उनीहरू दुई वर्षअघि विभिन्न म्यानपावर कम्पनीमार्फत कामका लागि साउदी पुगेका थिए ।

पीडित श्रमिकहरूका अनुसार कम्पनीले विगत ४ देखि ६ महिनासम्म तलब नदिएको मात्र होइन, खानपान, बसोबास र आधारभूत सुविधा समेत कटौती गरेको छ । चरम गर्मी (५० डिग्रीसम्म) मा काम गर्न बाध्य बनाइएका उनीहरूलाई काम गरेको पारिश्रमिकसमेत दिइएको छैन ।

श्रमिकहरूले मासिक १५०० साउदी रियाल तलब पाउने सम्झौता गरे पनि व्यवहारमा भने ४०० देखि ६०० रियाल मात्र दिइएको गुनासो गरेका छन् । ओभरटाइम गरेको रकमसमेत नपाएको उनीहरूको भनाइ छ ।

नेपालबाट जाँदा दैनिक १० घण्टा काम हुने भनिए पनि काम भएको दिन १२-१६ घण्टासम्म खटिनुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन् । तर, कहिले काममा नलगाई बिदामा राख्ने र त्यसबेला उल्टै तलब काट्ने गरिएको आरोप छ ।

पीडितहरूका अनुसार उनीहरूले २ लाखदेखि २ लाख २५ हजार रुपैयाँसम्म ऋण गरेर साउदी पुगेका थिए । तर अहिले कम्पनीले आफूहरूलाई ‘फ्री भिसा’ मा ल्याइएको भन्दै जिम्मेवारी पन्छाउने गरेको छ ।

अहिले अवस्था झन् दयनीय बन्दै गएको छ । एक महिनादेखि बिहानको खाना समेत नदिइएको, शौचालयमा ताला लगाइएकाले मस्जिदमा जानुपर्ने बाध्यता रहेको, एउटै कोठामा १०-२० जना कोचिएर बस्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।

समस्याबारे म्यानपावर कम्पनी, एजेन्ट तथा नेपाली दूतावासमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि उनीहरूले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेका छन् । तर त्यसपछि कम्पनीले झन् धम्की दिन थालेको उनीहरूको गुनासो छ ।

पीडितहरूका अनुसार काम छाडेर घर फर्किन खोज्दा पनि “२ वर्ष पुरा गर्नैपर्छ” भन्दै कुटपिट र ज्यान मार्ने धम्की दिइएको छ । अहिले ती नेपाली श्रमिकहरूले नेपाल सरकारसँग तत्काल उद्धार, बक्यौता तलब दिलाइदिन र दोषी कम्पनी तथा म्यानपावरमाथि कारबाही गर्न माग गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.