Gorkha Sansar

बन्दीपुरमा सार्वजनिक सुनुवाइ: नागरिकका गुनासा सुन्दै सेवा सुधारको प्रतिबद्धता

बन्दीपुर, २० चैत ।
बन्दीपुर गाउँपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत गाउँपालिकाको प्रगति समीक्षा तथा सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
गाउँपालिकाको आयोजनामा तथा मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रममार्फत चालु वर्षमा सम्पन्न योजनाहरू, सेवा प्रवाहको अवस्था, पारदर्शिता र नागरिकका गुनासा तथा सुझाव संकलन गरिएको थियो। स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाले हरेक वर्ष तीन पटक सार्वजनिक सुनुवाइ गर्दै आएको जानकारी दिँदै यसले पारदर्शिता र नागरिक सहभागिता सुनिश्चित गर्ने बताए।
सार्वजनिक सुनुवाइमा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष, वडाध्यक्षहरू, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा ६ वटै वडाबाट संकलित नागरिक प्रतिवेदन, बहिर्गमन अभिमत तथा स्थानीयका समस्या र गुनासा प्रस्तुत गरिएको थियो। सहभागीहरूले विकास योजनामा हुने ढिलासुस्ती अन्त्य, स्वीकृत योजनाको समयमै कार्यान्वयन, खेलकुद पूर्वाधार विकास, ऐलानी जग्गामा बनेका संरचनाको वैधानिकता, ‘एक वडा एक प्राविधिक’ कार्यक्रमको प्रभावकारी कार्यान्वयन लगायत विषय उठाएका थिए।
यसैगरी बन्दीपुर–३ मा निर्माणाधीन ‘आमासँग भवन’को बजेट निकासामा देखिएको अन्योल, होमस्टे सर्किट प्रवर्द्धन, सडक कालोपत्रे, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, विपन्नका लागि उपचार सहयोग र चिस्यान केन्द्र स्थापना जस्ता विषयमा समेत सुझाव दिइएको थियो।
उठाइएका प्रश्नहरूको जवाफ दिँदै सम्बन्धित जनप्रतिनिधि तथा सरोकारवालाहरूले समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको निष्कर्षमा सहभागीहरूले यस्ता सार्वजनिक सुनुवाइले स्थानीय तहलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने बताएका छन्। गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राप्त सुझावहरू आगामी योजना तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.