Gorkha Sansar

युवामा खेलप्रति आकर्षण बढाउन गोरखामा ‘तेस्रो सेरा कप’ आयोजना

गोरखा, चैत २० — स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै खेल संस्कृतिको विकास गर्ने उद्देश्यसहित गोरखाको सेरा बजारमा “तेस्रो सेरा कप नकआउट फुटबल प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ। डायमण्ड स्टार स्पोर्ट्स क्लब को आयोजनामा हुने उक्त प्रतियोगिता चैत २८ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ।
गोरखाचौर खेल मैदान मा हुने प्रतियोगिताले स्थानीयस्तरमा खेल प्रतिभा पहिचान र प्रोत्साहनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहनेछ।
प्रतियोगितामा विजेता टिमले नगद रु. ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ३०,३३० सहित मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई जनही रु. १,१०० का दरले पुरस्कृत गरिनेछ। प्रत्येक खेलमा “Man of the Match” समेत छनोट गरिनेछ।
टिम दर्ता शुल्क रु. ४,५०० तोकिएको छ भने प्रति खेलाडी थप रु. ५०० लाग्नेछ। प्रतियोगितामा ७ जना मुख्य खेलाडी र ३ जना वैकल्पिक खेलाडी रहने व्यवस्था गरिएको छ। अनुशासन कायम राख्न येलो कार्डमा रु. २०० र रेड कार्डमा रु. ३०० जरिवाना तोकिएको छ।
आयोजकका अनुसार प्रतियोगिता केवल प्रतिस्पर्धामा सीमित नरही युवाहरूमा अनुशासन, टीम भावना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने माध्यमका रूपमा अघि बढाइनेछ। खेलहरू प्रत्येक दिन बिहान १० बजेदेखि सञ्चालन हुने जनाइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.