काठमाडौं / गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा व्यापक आर्थिक अनियमितता गरेको आरोपमा अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी मनोहर भट्टले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार सहकारीमा १० हजार ५९८ बचतकर्ताको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको थियो । तर संस्थाले ऋण तथा लगानीका नाममा १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र प्रवाह गरेको देखिएको छ ।
बाँकी ठूलो रकमको कुनै स्पष्ट विवरण फेला नपरेको र सो रकम हिनामिना गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ । साथै, प्रवाह गरिएको ऋणसमेत कमसल धितो वा बिना धितो दिइएको तथ्य खुलेको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।