तनहुँ — पालिकावासीको चाहना र आवश्यकताका आधारमा योजना छनोट गरी बजेट निर्माण गरिरहेको देवघाट गाउँपालिका का अध्यक्ष तिल बहादुर थापा ले बताएका छन्।
नेपाल पत्रकार महासंघ तनहुँ शाखा को आयोजना र गाउँपालिकाको सहयोगमा आइतबार वडा नं. २ स्थित व्यागनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विनियोजित कार्यक्रम प्रभावकारी र पारदर्शी रूपमा कार्यान्वयन गर्न सेवाग्राही र कर्मचारीबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।
उनले जनप्रतिनिधिको रूपमा आफूहरू जुनसुकै समयमा पनि नागरिकको सेवामा समर्पित रहनु आफ्नो कर्तव्य भएको बताए। “देवघाटलाई धार्मिक, पर्यटन र कृषि क्षेत्रमा नमुना बनाउन हामी निरन्तर लागिरहेका छौँ,” उनले भने।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थी ले कर्मचारीहरूलाई ‘शासक होइन, सेवक’ भन्ने भावनाका साथ काम गर्न निर्देशन दिइएको जानकारी दिए। कृषि, पर्यटन, पूर्वाधार र शिक्षामा प्रगति भए पनि आन्तरिक राजश्व संकलन न्यून हुँदा केही कार्यक्रम प्रभावित भएको उनले बताए।
सार्वजनिक सुनुवाईकै क्रममा गरिएको सर्वेक्षणअनुसार १ सय सेवाग्राहीमध्ये करिब ८२ प्रतिशतले पालिकाको सेवा प्रवाहप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन् भने १८ प्रतिशतले सेवा ‘ठिकै’ रहेको प्रतिक्रिया दिएका छन्। सर्वेक्षण डिपी अधिकारी र पूर्ण बि.के. ले सञ्चालन गरेका थिए।
कार्यक्रममा सिम्लेक टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय सेवाग्राहीहरूले प्रविधियुक्त शिक्षा, आधुनिक पशुपालन प्रविधि लगायत विषयमा जिज्ञासा राखेका थिए। जिज्ञासाको जवाफ दिँदै शिक्षा अधिकृत होमनाथ लामिछाने र पशु तथा मत्स्य विकास शाखाका अधिकृत प्रदीप सापकोटाले आधुनिक प्रविधि अंगाल्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाध्यक्ष, कार्यपालिका तथा गाउँसभा सदस्यहरूको समेत उपस्थिति रहेको थियो। करिब १ सय जनाको सहभागिता रहेको कार्यक्रममा उपाध्यक्ष भूवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन पत्रकार महासंघका अध्यक्ष अधिकारीले गरेका थिए।
