Gorkha Sansar

बन्दीपुर–केशवटारमा ‘होमस्टे सर्किट’ अभियान सुरु: ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य

चैत १४, बन्दीपुर। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘होमस्टे सर्किट प्रवर्द्धन’ कार्यक्रम सुरु गरेका छन्। शनिबार बन्दीपुरबाट सुरु भएको कार्यक्रम बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट हुँदै व्यास नगरपालिका–१४ का कुलुङ, रुम्सी र केशवटारसम्म पुगेर अन्तरक्रिया कार्यक्रमसहित सम्पन्न भएको हो।
कार्यक्रम आइतबार केशवटार हुँदै बन्दीपुर–६ का धरमपानी, हुस्लाङकोट र कमलबारीलगायत क्षेत्र समेट्दै वडा नम्बर ५ को कोरिखा भएर पुनः बन्दीपुरमा पुगेर औपचारिक समापन गरिने कार्यक्रम रहेको छ। अभियानअन्तर्गत रामकोट, कुलुङ, केशवटार र रुम्सी होमस्टेमा स्थानीय सरोकारवालासँग अन्तरक्रिया समेत गरिएको थियो।
अन्तरक्रियामा होमस्टे सञ्चालनको अवस्था, पर्यटन पूर्वाधार विकास, पर्यटक आकर्षणका रणनीति तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले होमस्टे सर्किटमार्फत दुई स्थानीय तहबीच पर्यटन सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले ग्रामीण होमस्टेलाई आपसमा जोड्दा पर्यटकको बसाइ अवधि बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान बन्ने बताउनुभयो। होमस्टे सर्किटको विकासका लागि आवश्यक समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ थियो।
त्यस्तै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरलाई केन्द्रमा राख्दै आसपासका गाउँहरूलाई पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले यस अभियानले ग्रामीण संस्कृति, परम्परा र स्थानीय परिकारको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।
“पर्यटनलाई दिगो र समावेशी बनाउन होमस्टे सर्किट प्रभावकारी माध्यम बन्न सक्छ,” अध्यक्ष थापाले भन्नुभयो, “स्थानीय तहबीच सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्छौं।”
पर्यटनविद् हरिसिंह गुरुङले होमस्टे सर्किटले तनहुँका ग्रामीण बस्तीलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्ने धारणा राख्नुभयो। उहाँका अनुसार स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्नेछ।
कार्यक्रममा विभिन्न जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। स्थानीय पर्यटन व्यवसायीहरूले होमस्टे सर्किट कार्यक्रमले नयाँ गन्तव्यको पहिचान गराउने, पर्यटक आगमन बढाउने र स्थानीय रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै होमस्टेहरूको गुणस्तर सुधार, तालिम, प्रभावकारी प्रचारप्रसार तथा पर्यटन प्याकेज निर्माणमा जोड दिइने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.