काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकै दिन मधेश प्रदेश लोकसेवा आयोगले परीक्षा तय गरेको विषयलाई लिएर पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो. रिजवान अन्सारीले आपत्ति जनाएका छन्।
शनिबार जारी शुभकामना सन्देशमार्फत उनले ईद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा “ईद मुबारक” व्यक्त गर्दै शुभकामना दिएका छन्। तर, यसैबीच उनले पर्वकै दिन परीक्षा राखिएकोप्रति असन्तुष्टि जनाएका हुन्।
अन्सारीले धार्मिक चाडपर्वको संवेदनशीलतालाई बेवास्ता गर्दै परीक्षा सञ्चालन गर्नुले मुस्लिम विद्यार्थीहरूलाई पर्व मनाउनबाट वञ्चित बनाएको उल्लेख गरेका छन्। “ईदजस्तो महत्वपूर्ण दिनमा परीक्षा राखिनुले विद्यार्थीहरूलाई खुशी साटासाट गर्ने अवसरबाट टाढा राखेको छ,” उनले भनेका छन्।
उनका अनुसार यस्तो कार्यले मुस्लिम समुदायको संवैधानिक तथा मौलिक अधिकारमा असर पुग्ने खतरा रहेको छ। उनले सरकार तथा सम्बन्धित निकायलाई यस्ता निर्णय सच्याउन आग्रह गर्दै आगामी दिनमा सबै धर्मावलम्बीहरूको चाडपर्वलाई ध्यानमा राखेर परीक्षा तालिका निर्धारण गर्न सुझाव दिएका छन्।
यसैबीच, अन्सारीले ईद उल फित्रले समानता, सामाजिक न्याय, भ्रातृत्व र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव र एकताका साथ पर्व मनाउन आह्वान गरेका छन्। साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै अघि बढ्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।
