Gorkha Sansar

दम्माममा ‘चौथो च्याम्पियन कप–२०२६’ आजदेखि, १६ नेपाली टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने

दम्माम (साउदी अरब) — साउदी अरबको दम्मामस्थित Azizia Football Ground मा आयोजना हुने ‘चौथो दम्माम च्याम्पियन कप–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। United Nepal Football Club (UNFC) को आयोजनामा मुस्लिम समुदायको महान् पर्व Eid al-Fitr को अवसर पारेर आज (मार्च १९)मा प्रतियोगिता हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगितामा साउदी अरबका विभिन्न शहरमा सक्रिय १६ नेपाली फुटबल टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुद भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। UNFC ले सन् २०१४ देखि निरन्तर यस्ता खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ।
यसअघि सन् २०२५ जुनमा सम्पन्न तेस्रो संस्करणको उपाधि आयोजक टोली युनाइटेड एफसीले नै जितेको थियो। यस वर्ष प्रतियोगितालाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विशेष तयारी गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पुरस्कार राशिसमेत आकर्षक राखिएको छ। विजेता टोलीले ७ हजार साउदी रियाल (करिब २ लाख ६६ हजार रुपैयाँ) नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ हजार ५ सय साउदी रियाल (करिब १ लाख ३३ हजार रुपैयाँ) नगदसहित ट्रफी र मेडल पाउनेछन्। यसबाहेक उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। सहभागी प्रत्येक टोलीले ७ सय साउदी रियाल दर्ता शुल्क बुझाएका छन्। सबै टोली प्रतियोगिताप्रति उत्साहित देखिएको आयोजकले जनाएको छ।
आयोजक क्लबका अध्यक्ष ओम बहादुर कुमाल ले Eid al-Fitr जस्तो पावन पर्वको सार्वजनिक बिदामा प्रतियोगिता आयोजना गर्नुको उद्देश्य प्रवासमा रहेका नेपालीबीच खुसी साटासाट गर्दै आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको बताउनुभयो।
क्लबका महासचिव कुमार तामाङ र कोषाध्यक्ष विजय लिम्बू सहितको व्यवस्थापकीय टोलीले प्राविधिक तयारीलाई अन्तिम रूप दिइसकेको जनाइएको छ। अध्यक्ष कुमालले प्रतियोगिताले साउदी अरबमा रहेका नेपालीहरूलाई खेलमार्फत एकताबद्ध गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
दम्माम तथा आसपास क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली खेलप्रेमीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.