फागुन २२ गते
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार, सो निर्वाचन क्षेत्रमा खसेको कुल १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ७७८ मतको भारी अन्तरले पछाडि पार्नुभएको छ।
प्रचण्डका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको रुकुम पूर्वमा यसपटक १९ हजार १८८ मत खसेको थियो। विजयी भएसँगै दाहाललाई स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूले बधाई दिइरहेका छन्।
