गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाट स्थित मङ्गलेश्वर महादेव मन्दिरमा शिवरात्री धार्मिक तथा सांस्कृतिक २०८२ सम्पन्न भएको छ।
मङ्गलेश्वर महादेव मन्दिर व्यवस्थापन तथा मेला आयोजक समिति का अध्यक्ष राजबहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले पालुङटार नगरपालिका भित्र रहेका १६ वटा धार्मिक स्थलमध्येको महत्वपूर्ण स्थल रहेको र यसको विकासका लागि आफूहरुले ध्यान पुर्याएको बताउनुभएको थियो।
चर्चित राष्ट्रिय लोकदोहोरी कलाकारहरू आशा बिसी, सन्तोष दवाडी र शान्ति कार्की ले आफ्ना विभिन्न प्रस्तुतिहरु मार्फत दर्शक तथा भक्तजनहरुलाई मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले सम्बोधन गर्नुभएको थियो भने पालुङटार नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सिर्जना कुमालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन गोर्खा संसार मिडिया प्रणालीका सञ्चालक डाक्टर रविन्द्र कडेल र चन्द्रबहादुर कुमालले गरेका थिए।
बिहानैदेखि भजन किर्तनका साथमा शिव पुराण कार्यक्रम सम्पन्न गरिएको थियो भने त्यसपश्चात राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति मार्फत साँझ ८ बजेसम्म औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। मङ्गलेश्वर महादेव मन्दिरमा आफ्नो मनोकांक्षा पूरा हुने उद्देश्यका साथ रातभर दीप प्रज्वलन गरेर रात्रीजाग्रामा बस्ने प्रचलन अन्तर्गत यस वर्ष पनि सयौंको सङ्ख्यामा महिलाहरू दीप प्रज्वलन गरेर बसेका थिए । दीप प्रज्वलन गरी सागराम बस्नेहरूका लागि साथ दिने क्रममा याम्पा स्थित भजन समूह र राधाकृष्ण टोलका भजन समूहहरुले रातभर भजन प्रस्तुत गरेका थिए।
४०० वर्षभन्दा बढी पुरानो मानिएको उक्त मङ्गलेश्वर महादेव मन्दिरमा सतीदेवीको दाहिने कान (अङ्ग) पतन भएको स्थान भएकाले उक्त स्थानमा मन्दिर निर्माण गरी पूजा गरिँदै आएको किबदन्ती रहेको छ।
मङ्गलेश्वर महादेव मन्दिरमा शिवरात्री धार्मिक तथा सांस्कृतिक २०८२ सम्पन्न
