Gorkha Sansar

पालुङटारमा शिक्षकहरूका लागि योग,ध्यान तथा तनाव व्यवस्थापनको चारदिवसीय शिविर सञ्चालन

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित ओशो कैलाश ध्यान केन्द्रमा शिक्षकहरूका लागि योग ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय सिविर सञ्चालन भइरहेको छ।

माघ २५ गतेदेखि सञ्चालन भइरहेको उक्त शिविरको उद्घाटन पालुनटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख चिन्तनले यस नगरपालिकालाई मानसिक स्वास्थ्यको क्षेत्रमा नमुना नगरपालिका बनाउने योजनाका साथ आफूहरुले यस्तो खालको शिविरको आयोजना गरेको बताउनुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाभित्र आत्मदाह गर्नेको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको देखिएको हुँदा यसको न्यूनीकरणका लागि पहल स्वरूप शिक्षक र विद्यार्थी माझ योग ध्यान आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको समेत बताउनुभएको थियो। चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा ओशो तपोवन काठमाडौँबाट आउनुभएका ख्याति प्राप्त प्रशिक्षक स्वामी आनन्द अरहतले शिक्षकहरूका लागि योग ध्यान तथा तनाव व्यवस्थापन र विद्यार्थीहरूको मनोभावना बुझेर कसरी उनीहरुप्रति व्यवहार गर्न सकिन्छ भन्ने लगायतका विषयमा सहजीकरण गरिरहनु भएको छ ।

पालुङटार नगरपालिकाका विभिन्न विद्यालयहरूबाट करिब १५ जनाको उपस्थिति रहेको कार्यक्रमको समन्वय पालुङटार नगरपालिकामा मनोविदको रुपमा काम गर्दै आउनुभएका कमल पोखरेलले समन्वय गरिरहनुभएको छ ।

प्रशिक्षक अरहतले शिक्षामा समेत सुधार गर्नको लागि शिक्षक अभिभावक र विद्यार्थीहरू समेतलाई ध्यान तथा योगाको आवश्यकता रहेको बताउनुभएको छ। ध्यान तथा योगाबाट शारीरिक रुपमा स्फूर्ति आउने र मानसिक रुपमा स्वस्थ रहने हुँदा मनमा रहेका विकारहरू हट्दै जाने र मनोसामाजिक क्षेत्रमा यसको सकारात्मक प्रभाव पार्न सकियो भने समाज सुन्दर बनाउन सकिने समेत उहाँले बताउनुभएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.