गाेरखा, माघ १२ गते
पालुङटार स्थित रजगरे माविकाे ४८औँ वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न भएकाे छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ईश्वर कुमार मल्लको अध्यक्षता तथा पालुङ्टार नगरपालिकाका नगरप्रमुख श्री विवश चिन्तन देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्री लोकेन्द्र बिष्टले गर्नुभएको थियो भने उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक श्री सानुकाजी श्रेष्ठले व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा पालुङ्टार नगरपालिका शिक्षा शाखा प्रमुख श्री मनोज श्रीमल, प्रमुख प्रशासकीय अधिकृत श्री शेरबहादुर बिसी, पालुङ्टार नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री चेतबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री भगवान मल्ल, श्री गोविन्द बराकोटी तथा बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री प्रेम कोइरालाले विशेष अतिथिको रूपमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
वार्षिक उत्सवको अवसरमा यस विद्यालयका पूर्व शिक्षक , स्थानीय बुद्धिजीवी चन्दादाता, अभिभावक लगायतलाई विद्यालयले सम्मान गरेको छ। भने विद्यार्थीहरूले स्वागत गीत तथा विभिन्न नाचगान, जादुकला र नाटक प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक र रमाइलो बनाएका थिए। साथै, विद्यार्थीहरूले विभिन्न प्रकारका गणितीय तथा विज्ञानसम्बन्धी शैक्षिक सामग्रीहरूको प्रदर्शनी समेत गरेका थिए।
बार्षिकाेत्सवका अवसरमा विद्यालयले आयोजना गरेको घोक्ने घोकाउने शैलीलाई अन्त्य गर्नको लागि नयाँ प्रकारको वक्तित्वकला घटनामा आधारित वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा मदने डाँडा माध्यमिक विद्यालयकी छात्रा एलिसा श्रेष्ठ प्रथम,जनता माध्यमिक विद्यालयकी छात्रा दिया परियार द्वितीय,जीवनज्योति माध्यमिक विद्यालयका छात्र समर्पण गुरुङ तृतीय र अमरज्योति माध्यमिक विद्यालयका छात्र उमङ्ग देवकोटाले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ।
कार्यक्रमले विद्यालय, अभिभावक तथा समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको धारणा रहेको थियो।
