माघ ३ गते, गोरखा ।
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको श्री जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मनबहादुर कुमालको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा उपभोक्ता सहकारी सङ्घ गोर्खा जिल्लाका सल्लाहकार तथा पालुङटार नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ऋषिराज धौरालीले प्रमुख अतिथिको रुपमा बोल्दै यस सहकारीले धेरै दुःख कष्ट गर्दै आएको हुँदा आगामी दिनमा यसको उज्ज्वल भविष्य रहेको बताउनुभएको थियो।
विशिष्ट अतिथिको रूपमा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले यस संस्थाको गरिमा अति नै उच्च स्थानमा रहेको हुँदा सञ्चालकहरूले सजगताका साथ अगाडि बढ्न सकेमा राम्रो हुने बताउँदै किसानहरूका लागि लक्षित गर्दै कार्यक्रम ल्याउन समेत सुझाव दिनुभएको थियो।
संस्थाका सचिव भावना कुमालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धिबहादुर कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा समाजसेवी व्यक्तित्व जनकराज भट्ट, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकाल, गोर्खा संसार मिडिया प्रा लि का सञ्चालक डाक्टर रविन्द्र कडेल,सहकारी संस्थाका सदस्य ओम प्रकाश गुरुङ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
जनमुखी सहकारी संस्थाले रासायनिक मल को कारोबार को लागि नगर कार्यपालिकाको कार्यालयबाट अनुमति प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा सक्रियताका साथ पारदर्शी ढङ्गबाट किसान लक्षित कार्यक्रमहरू ल्याउने समेत संस्थाका अध्यक्ष कुमालले जानकारी दिनुभयो ।
