Gorkha Sansar

पालुङटारमा बाह्रौँ माघे संक्रान्ति मेला सम्पन्न

माघ १, गाेरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ६ कमलटार मा नेपाल मगरसघ गोर्खा क्षेत्र नम्बर २ अन्तर्गत ट्याङ्छा मगर भेजाको आयोजनामा मगरहरूको महान पर्व माघे संक्रान्ति विशेष कार्यक्रमका साथ मनाइएको छ।
मगर परम्परा धर्म कला संस्कृति भाषा भेषभूषा लिपि रितिरिवाज परम्परा सभ्यताको संरक्षण र प्रवर्धनको साथै नयाँ पुस्तामा पुस्तान्तरणको योजना सहित सञ्चालन गरिएको बाह्रौँ माघे संक्रान्ति मेला नेपाल मगरसघ गोर्खा जिल्ला क्षेत्र नम्बर २ क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर राना मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहकार प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकी मगरले सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकी ले मगर जाति प्रकृति पुजक तथा अति नै इमान्दार भएको बताउँदै पछिल्लो समयमा मगरहरूका विशेष चाडहरूलाई हिन्दूकरण गरिएको बताउनुभएको थियो। त्यस्तैगरी विभिन्न सरकारी निकाय तथा विभिन्न तहका सरकार प्रमुखहरूले आफ्नो धर्म संस्कृति जोगाउन आफैले लागि पर्नुपर्ने बताइएको सन्दर्भमा जातीय संगठनको मात्र पहलले मात्र नहुने भएको हुँदा सरकारको प्रमुख दायित्व हुने उहाँले बताउनुभएको थियो।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्नुभएका पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले आफ्नो तर्फबाट जनयुद्धकालदेखि नै जति पहिचान झल्काउने गरी बसोबासका आधारमा मगरात, ताम्सालिङ, तमुवान लगायतका राज्य स्थापनाको लागि आवाज उठाएको भएतापनि उक्त कुरा नेपालमा संघीयताको अभ्याससँगै व्यवहारमा उतार्न नसकेको बताउनुभएको थियो।
नेपाल मगर सङ्घ पालुङटार नगर समितिका उपाध्यक्ष सुवास राना मगर तथा नेपाल मगरसघ गोर्खा जिल्ला क्षेत्र नम्बर २ क्षेत्रीय समितिका सचिव सपना आले मगरले सञ्चालन गरेका कार्यक्रममा ट्याङ्छा मगर भेजाका सचिव खड्क बहादुर राना ले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा आदिवासी जनजाति महासङ्घ पालुङटार नगरपालिकाका अध्यक्ष शेरबहादुर तामाङ, नेपाल मगरसघ गोर्खा जिल्लाका पूर्व सदस्य डम्बरबहादुर राना, नेपाल मगरसघ पालुङटार नगरपालिकाका अध्यक्ष मानबहादुर आले, पालुङटार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष चेतबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्यहरू कलाकार राना र मानबहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
मगरहरूको एकताको सन्देशको रूपमा समेत लिइने गरेको यस्तो कार्यक्रम हरेक वर्ष विभिन्न स्थानहरूमा पालैपालो गर्दै आउने प्रचलन बसाएका छन्। कार्यक्रममा पालुङटार नगरपालिका अजिरकोट गाउँपालिका तथा सिरानचोक गाउँपालिकाका ३० वटा मगर भेजाहरूको उपस्थिति रहेको थियो ।
नेपाल मगरसङ्घ गोरखा क्षेत्र नम्बर २ क्षेत्रीय समितिको संरक्षकत्व एवं नेपाल मगरसघ पालुङटार नगरपालिका नेपाल मगरसघ सिरान्चोक गाउँपालिका र नेपाल मगर सङ्घ अजिरकोट गाउँपालिका को प्रवर्द्धन तथा त्यसअन्तर्गत रहेका सम्पूर्ण मगर भेजाहरूको सहयोग र सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा सम्पूर्ण भेजाका अध्यक्षहरूलाई कार्यक्रमको सुरुवाती चरणमा नै सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तैगरी कार्यक्रम सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने पालुङटार नगरपालिका नेपाल मगर सङ्घ का अध्यक्ष मानबहादुर आले, नेपाल मगर संघ सिरानचोक गाउँपालिका का अध्यक्ष बलबहादुर थापा मगर र नेपाल मगर संघ अजिरकोट गाउँपालिकाका अध्यक्ष यम बहादुर राना मगरलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। उक्त कार्यक्रममा मगरहरूको विशेष कलाको रूपमा रहेको कौरा नाच घाटु नाच लगायतका विभिन्न प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.