पाैष २१, गाेरखा।
गोर्खाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ।
जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको अभिभावकहरूको भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि ४ जना अभिभावकहरु छनोट गरिएको छ।
यसरी छनोट हुनेहरूमा पालुङटार वडा नं ७ का वडा अध्यक्ष समेत रहेका अर्जुनबहादुर कुमाल सहित शिवजी पाण्डे कल्पना परियार र सुशीला श्रेष्ठ चयन भएका छन्। विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरूले छानी पठाएका दुईजना महिलासहित चार जना र चन्दादाता समाजसेवी मध्यबाट दुई जना छनोट गरिने र छनोट भएकाहरू मध्यबाट अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ। जसमा पहिलो बैठक भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने परम्परा रहिआएको छ।पालुङटार नगरपालिका शिक्षा शाखाका प्रतिनिधिको रूपमा बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कोइरालाको विशेष आतिथ्यतामा सञ्चालन भएको अभिभावक भेलाले कोपिला कुमालको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ। जसको सदस्यहरूमा सन्तोष कुमाल, लेखबहादुर बि.क, रामशरण परियार, गौमती थापा, अनुपा कुमाल, सम्झना श्रेष्ठ र रिता थापा रहेका छन्। शिक्षक अभिभावक संघमा भने शिक्षकहरूमध्येबाट छानी पठाएका शिक्षक सदस्य सचिव रहने व्यवस्था रहेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक ताराबहादुर कुमालले सञ्चालन गर्नुभएको कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरूलाई शिक्षा शाखाका प्रतिनिधिका रूपमा आउनुभएका प्रेमबहादुर कोइरालाले टिका लगाइदिनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद ढकालले समिति गठन गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
समितिको पहिलो बैठकबाट मनोनित सदस्यहरू को मनोनयन गर्ने र व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने वडा शिक्षा समितिका अध्यक्ष एवं पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका अर्जुनबहादुर कुमालले जानकारी दिनुभयो ।
