पाैष ५ गते, गाेरखा
डा.रविन्द्र कंडेल
पालुङटार नगरपालिका वडा नम्बर ९ कार्यालयको आर्थिक प्रायोजनमा धर्मोदय माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा आयोजक विद्यालयले प्रथम स्थान हासिल गरेको छ।
पौष ४ र ५ गते सञ्चालन भएको खेलमा धर्मोदय माध्यमिक विद्यालयले जीवनज्योति माध्यमिक विद्यालय बिरुवाटार लाई हराउँदै प्रथम स्थान हासिल गरेको हो। प्रथम स्थान हासिल गरेसँगै धर्मोदयले एउटा खसी सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ। त्यस्तैगरी उपविजेता हुन सफल जीवनज्योति माध्यमिक विद्यालयले एउटा खसी सहित प्रमाणपत्र र मेडल हात पारेको छ।
शनिबार सम्पन्न भएको खेलमा अन्नपूर्ण माध्यमिक विद्यालय खोप्लाङले मदने डाँडा माध्यमिक विद्यालयलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेर एउटा खसी सहित मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रमुख अतिथिको रुपमा नगरपालिकाका नगरप्रमुख विवश चिन्तन को उपस्थिति रहेको फाइनल खेलको समापन समारोहमा बोल्दै शिक्षकहरू पठनपाठनमा मात्र होइन खेलकुदमा पनि अगाडि आउनुपर्छ भन्ने मूल धेयका साथ कार्यक्रमको आयोजना गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष भेजराज पाण्डेले बताउनुभएको थियो।
खेलमा पालुङटार नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी कुल १२ विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।
वडा नम्बर ९ को कार्यालयले हरेक वर्ष शिक्षकहरूका लागि भलिबल प्रतियोगिता गर्दै आइरहेको छ।
कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

