आँबुखैरेनीबाट कटुवा पेस्तोलसहित १ युवक पक्राउ
आँबुखैरेनी, ४ पौष — तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
आज बिहान करिब ३ बजे सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको नियमित चेकजाँचका क्रममा बारा जिल्लाको कलैयाबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार एक युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला बारा सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओम बाबु प्रसाद यादव रहेका छन्। प्रहरीका अनुसार यादवले आफ्नो शरीरको अगाडिको भाग (पेटमुनि) बेल्टले च्यापी लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरिएको हो।
पक्राउ परेका यादवलाई सम्मानित तनहुँ जिल्ला अदालतबाट हातहतियार मुद्दामा म्याद थप गरी हाल इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँबाट थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभएको छ।
