उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए ।
उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको उनले बताए । गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाइ उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरिएको उनले बताए ।
लामाको यो पहिलो सुत्केरी हो । उनले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमि कल्पना सिँहले जानकारी दिइन् । अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल पनि कम भएको, दूध पनि नचुसेकाले तत्काल उद्धार गर्नु परेको अनमि सिँहले जानकारी दिइन् । ‘गर्भ रहेको सात महिनामै उद्धार बच्चा जन्माउनु भएको रहेछ’, सिँहले भनिन्, ‘बच्चा सामान्यतया २.५ केजी हुनुपर्नेमा यो बच्चाको तौल एक केजी मात्र थियो । अनि आमाको दूध पनि नखाएकाले बच्चा र आमाको सुरक्षाका लागि तत्काल हेलिकोप्टरबाट उद्धार गरेका हौँ ।’
अहिले अस्पतालमा बच्चा र आमाको स्वास्थ्य स्थिति सामान्य रहेको उनको भनाइ छ ।
