काठमाडौँ । राजधानीवासीले फेरि पनि मेलम्चीको पानी अभाव भोग्नुपर्ने भएको छ । आफ्ना मागहरू पूरा नभएको भन्दै मेलम्ची बाढीपीडित लगाएत स्थानीयवासीहरूले बिहीबारदेखि मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण पूर्ण रूपमा बन्द गरेका छन् ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार स्थानीयले मुहान क्षेत्र नै बन्द गरेपछि बिहीबार दिउँसोदेखि मेलम्चीको पानी काठमाडौँमा आउने क्रम रोकिएको हो । उनले भने, “गत वर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयवासीले मुहान बन्द गर्नुभएको हो । अहिले राजधानीमा मेलम्चीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।”
विसं २०७८ सालको विनाशकारी बाढीपहिरोका पीडितहरूका पुनर्निर्माण र राहतसम्बन्धी मागहरू अहिलेसम्म सम्बोधन नभएको भन्दै स्थानीयहरू आन्दोलित भएका हुन् । गत असारमा वर्षा सुरु भएपछि स्थगित गरिएको मेलम्ची आपूर्ति असोज २६ गते पुनः सुरु गरिएको थियो, तर अहिले पुनः अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिहरूले एक साताअघि नै काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका थिए । समितिहरूले “सम्झौताका बुँदाहरू तत्काल कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने” चेतावनी दिएका छन् ।
कार्यकारी निर्देशक दासले आन्दोलनरत पक्षसँग वार्ता गरी समस्या समाधानका प्रयास भइरहेको बताए । तर तत्काल समाधान नआए राजधानीमा फेरि पनि गम्भीर पानी संकट उत्पन्न हुने चिन्ता बढेको छ ।
