Gorkha Sansar

महाकाली प्रादेशिक अस्पतालमा अनियमितता र सेवामा कमजोरी: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को १२ बुँदे ज्ञापनपत्र

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा देखिएका अनियमितता, सेवामा कमजोरी र प्रशासनिक बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत), जिल्ला समिति कञ्चनपुरले १२ बुँदे ज्ञापनपत्र अस्पताल प्रशासनलाई बुझाएको छ ।

पार्टीका अनुसार जिल्लावासीले विगत केही समयदेखि अस्पतालको सेवा तथा व्यवस्थापनसम्बन्धी गुनासा अघि सारेका थिए, जसका आधारमा पार्टीले अध्ययन गरी उक्त ज्ञापनपत्र बुझाएको हो । पार्टीले अस्पताल प्रशासनलाई सात दिनभित्र माग सम्बोधन गर्न चेतावनी दिँदै माग पूरा नभए “कडा जनसंघर्षमा उत्रिने” चेतावनी समेत दिएको छ ।

१२ बुँदे मागहरूमा समावेश प्रमुख विषयहरूः

१. लामो समयदेखि बन्द रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउन माग ।
२. अस्पतालको मेडिकलमा नियमित औषधि अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या समाधान गर्न ।
३. करार कर्मचारीमाथि भेदभावपूर्ण व्यवहार अन्त्य गरी सबैलाई समान सेवासुविधा सुनिश्चित गर्न ।
४. निड्स नेपाल र अस्पतालबीचको सम्झौता सकिएपछि पनि कानुनी प्रक्रिया उल्लङ्घन गरी कर्मचारी राखिएको भन्दै कारबाहीको माग ।
५. स्वास्थ्य बीमा र न्यूनतम शुल्कमा हुनुपर्ने ईको, ईन्डोस्कोपी, युएसजी सेवा महँगो शुल्कमा दिइएको भन्दै सुधारको माग ।
६. भर्खरै सञ्चालनमा आएको सिटी–स्क्यान सेवामा देखिएका समस्या समाधान र बीमा सेवा लागू गर्न ।
७. केही प्राविधिक कर्मचारीले राजनीतिक पहुँचको दुरुपयोग गरी पदिय जिम्मेवारीमा हस्तक्षेप गरेको आरोप ।
८. प्रशासनिक कर्मचारीहरूले अनियमित रूपमा ओभरटाइम र काज भत्ता लिइरहेको गुनासो ।
९. “On call” कन्सल्टेन्ट डाक्टरहरू आपत्कालीन अवस्थामा उपलब्ध नहुनु, जसले सर्वसाधारणलाई सेवाबाट वञ्चित बनाएको ।
१०. चिकित्सकहरूको कार्यालय समयमा ढिलाइ र समयअगावै प्रस्थान गर्ने प्रवृत्तिमा नियन्त्रण गर्न ।
११. ई–हाजिर प्रणालीको दुरुपयोग तत्काल रोक्न ।
१२. कानुनी प्रक्रिया विपरीत पूर्व जनप्रतिनिधिहरूलाई कर्मचारी नियुक्तिमा संलग्न गराइएको भन्दै छानबिनको माग ।

पार्टीका जिल्ला सचिव डम्बर विष्टले हस्ताक्षरित उक्त ज्ञापनपत्रमा भनिएको छ, “अस्पताल प्रशासनले गम्भीरता पूर्वक मागहरू सम्बोधन नगरे आगामी सात दिनभित्र हाम्रो पार्टी बाध्यतावश जनसंघर्षमा उत्रिनेछ ।”

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.