भोजपुर । देश–विदेशमा आफ्नो अद्वितीय पहिचान बनाइसकेको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध भोजपुर अब खुकुरी उद्योगको राजधानीका रूपमा परिचित बन्दै गएको छ ।
भोजपुरका अनुभवी कालीगढहरू आज पनि परम्परागत सीप र आधुनिक प्रविधिको समिश्रण गरेर खुकुरी तयार गर्छन् । स्थानीय व्यवसायी हीरा श्रेष्ठका अनुसार, यहाँ बनाइने खुकुरीको मूल्य रु. ५०० देखि रु. ५२ हजारसम्म पुग्ने गरेको छ । “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी तयार पारिन्छन्,” उनले बताए ।
श्रेष्ठका भनाइमा, उच्च मूल्यका खुकुरी विशेष अर्डरका लागि बनाइन्छन् । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिन्छ । खुकुरीको धार, बिँड र दाप तयार गर्ने काम आज पनि स्थानीय कारीगरले आफ्नै हातले गर्वका साथ गर्छन् ।
भोजपुरे खुकुरी न केवल देशभित्र, अमेरिका, बेलायतलगायत देशहरूमा पनि निर्यात हुने गरेको छ । “भोजपुरे खुकुरी नेपाली गौरवको प्रतीक हो,” श्रेष्ठ भन्छन्, “विदेशीहरूले पनि यो नेपाली वीरताको प्रतीकका रूपमा स्नेहपूर्वक लिन्छन् ।”
पर्यटकहरूका लागि पनि भोजपुरे खुकुरी ‘स्मृति उपहार’ बन्न पुगेको छ । देश–विदेशबाट आउने पर्यटकले भोजपुरे खुकुरी खरिद गरेर आफ्ना देश फर्कँदा यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा सशक्त योगदान पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।
पहिले हातले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ । तर सीप भने उही परम्परागत — पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको नेपाली पहिचानको गौरव ।
आज पनि भोजपुरका ती कालीगढहरूको हातमा चम्किरहेको छ — “भोजपुरे खुकुरी”, जसले बोकेको छ साहस, सीप र नेपालीपनको उज्यालो चमक ।
