धरान । नेपाल हृदयरोग निवारण प्रतिष्ठान सुनसरी शाखाले विश्व मुटु दिवस (सेप्टेम्बर २९) को अवसरमा ‘मुटु बचाउन पदयात्रा’ गर्ने भएको छ । प्रतिष्ठानको शनिबार बसेको बैठकले असोज ३ गते धरानको सिंहदेवी चोकदेखि विजयपुर पञ्चकन्यासम्म दुई घण्टा लामो पदयात्रा गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका सचिव आशिष मास्केका अनुसार पदयात्रामा सहभागीहरूले चेतनामूलक प्ले-कार्डसहित मुटु रोगबारे जनचेतना फैलाउनेछन् ।
बैठक अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा बसेको थियो । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत स्वास्थ्य सन्देश प्रवाह गर्ने, सामाजिक सङ्घ-संस्थासँग सहकार्य गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णयसमेत भएको जानकारी दिए ।
विश्वमा हरेक वर्ष करिब दुई करोड मानिस मुटु रोग र आर्टरीसम्बन्धी समस्याका कारण ज्यान गुमाउने तथ्यांकसहित उनले स्वस्थ जीवनशैली, सावधानी र रोग लागिसकेपछि अपनाउनुपर्ने उपायहरूबारे जनचेतना फैलाउने आवश्यकता औंल्याए ।
प्रतिष्ठानकी सल्लाहकार तथा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थको विशेष उपस्थितिमा सम्पन्न बैठकले सह-कोषाध्यक्षमा देवेन्द्र कार्की र सह-सचिवमा दीभा श्रेष्ठलाई मनोनित गरेको छ । सल्लाहकार कायस्थले जनचेतना कार्यक्रमलाई अझ सक्रिय बनाउन सुझाव दिएकी छन् ।