गोर्खाको पालुङ्टार नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीद्वारा एक दिने पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ।
माओवादी केन्द्र पालुङटारका अध्यक्ष मदन देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमर तमुले प्रमुख अतिथिको रुपमा राजनितिक कार्यदिशा का बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्कुलिङ विभाग सदस्य लेखनाथ न्यौपानेले समाजवादका बारेमा र बैकल्पिक केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले स्थानीय सरकार सञ्चालन एवं चुनौतीका बारेमा तथा अर्का केन्द्रीय सदस्य खोपबहादुर कंडेलले राजनितिक अर्थशास्त्रको बारेमा माओवादी केन्द्र गोरखाका सचिव अकुर तिमिल्सिना आयामले संगठन निर्माणका बारेमा प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा पालुङटार नगरपालिकाको उप प्रमुख बन्दना पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो।
प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिवेश लगायतका विविध विषयहरूमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम सञ्चालक एवं नेकपा माओवादी केन्द्र पालुङटार नगर कमिटीका सचिव शंकरराज कडेलले जानकारी दिनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालुङटार नगरपालिका भरिका सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।