गोरखा ,भाद्र ९ गते
गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित सतीघाट खानेपानी आयोजनाको ट्यांकीमा डुबेर १२ बाँदरको मृत्यु भएको छ।
खानेपानी ट्याङ्कीमा हेर्न जाँदा आज दिउँसो १२ वटा बाँदरहरु डुबेर मरिरहेको अवस्थामा भेटेको एक स्थानीय भीमबहादुर श्रेष्ठले जानकारी दिनुभयो। दिउँसो तिर खानेपानी आयोजनाको ट्याङ्की रहेको स्थानमा हेर्न जाँदा ट्याङ्कीभित्र डुबिरहेका अवस्थामा बाँदरहरु देखेपछि तिनीहरुलाई आफैंले बाहिर निकालेको श्रेष्ठले बताउनुभयो।
पछिल्लो समय निर्माण भएका अधिकांश खानेपानी ट्याङ्कीहरूको फिल्टर ट्याङ्की खुल्ला अवस्थामा नै निर्माण गरिने गरेको पाइएको छ। उक्त खानेपानी आयोजना निर्माणकै क्रमदेखि नै स्थानीयहरूले माथि साधनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको भए तापनि जिल्ला खानेपानी तथा खानेपानी आयोजना निर्माणका ठेकेदारहरूले समेत कुनै सुनवाई नगरेको र स्थानीय निकायका जनप्रतिनिधिहरूले समेत कुनै सुनवाई नगरेका कारण आज यस्तो अवस्था आएको स्थानीयहरुले बताएका छन् ।
यसरी नै खुला छोड्ने र शुद्ध पिउने पानी भन्दै पिउने गर्दा आगामी दिनमा यसले स्वास्थ्यमा झन् विकराल समस्या ल्याउन सक्ने देखिन्छ । सतीघाट, कालमाटा आसपासका क्षेत्रमा यस खानेपानी आयोजना अन्तर्गत करिब ७० घरधुरीले धारा जडान गरी उपयोग गर्दै आइरहेका छन् ।