बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा
बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर्याएको छ । विच्छ्या खोलामा आएको बाढीले गाउँपालिकाका १, ३ र ५ वडामा बढी प्रभाव पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव बहादुर चौधरीले जानकारी दिए ।
बाढीले ११ घर बगाएको र ७ घरमा क्षति पुगेको छ भने १७ घर उच्च जोखिममा रहेका छन् । प्रभावितमध्ये नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
त्यस्तै, वडा नं. ५ मा नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराका घर बगाएका छन्। साथै बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढाथापा, वीरभान लुहार र डवल लुहारको घर पनि बाढीले बगाएको छ ।
जोखिममा रहेका घरमध्ये सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापा लगायत अन्य स्थानीयको घर छन् ।
बाढीले सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी, विद्युत लाइन, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टजस्ता संरचना पनि क्षतिग्रस्त वा जोखिममा पारेको छ।
क्षतिको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लले कार्यपालिका बैठक बसेर राहत तथा पुनःस्थापनाका लागि तत्काल निर्णय गर्ने बताएका छन् ।