Gorkha Sansar

इजरायल पुगे विपिनकी आमा–बहिनी, हाम्रो कसैसँग दुश्मनी छैन, छोरालाई घर पठाइदिनुस्

काठमाडौं, २७ साउन  । हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका विपिन जोशीको आमा पद्मा र बहिनी पुष्पा बिहीबार इजरायल पुगेका छन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजान लागिएको छ ।

तेलअविवस्थित वेनगुरियन विमानस्थलमा उनीहरूलाई इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत धनप्रसाद पण्डित र पूर्वराजदूत हानन गोदारले स्वागत गरेका थिए ।

विपिनकी आमा पद्माले भक्कानींदै भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएको हुँ । कृपया उनलाई मुक्त गरी हामीलाई घर पठाइदिनुहोला । सबैमा विनम्र अनुरोध छ ।”

बहिनी पुष्पाले भने, “मेरो दाजु पढ्न इजरायल गएको थियो । हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनाश नहोस् । हामी नेपालबाट उहाँलाई लिन आएका हौं ।”

विपिन जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का बासिन्दा हुन् र ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषय अध्ययनका लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणपछि विपिन सम्पर्कविहीन छन् ।

त्यही घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने २५१ नेपालीहरू हमासले बन्धक बनाएका थिए । केही बन्धकहरू युद्धविराममा रिहा भए तापनि विपिन अझै बन्धक छन् । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेको छ ।

इजरायली विदेश मन्त्रालयका अनुसार, विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा लगेर रिहाइका लागि दबाब दिने तयारी भइरहेको छ । साथै उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख र हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग भेट गराइनेछ ।

विपिनलाई हमासले बन्धक बनाएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाबारे जानकारी गराइने बताइएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.