Gorkha Sansar

कैलाली कारागार घटना : मृतक भरत चौधरीका परिवारको जाहेरी, शव परीक्षणपछि दाहसंस्कार तयारी

धनगढी, २६ साउन । कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

परिवारले सोमबार दिउँसो दिएको जाहेरीमा आक्रमणमा संलग्न कैदीबन्दीको पहिचान गरी कानूनी कारबाही गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार जाहेरी दर्ता भइसकेको छ र सोही आधारमा अनुसन्धान अघि बढाइनेछ ।

घटनापछि चौधरीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको थियो । जाहेरी दर्ता भएपछि शव परीक्षणको प्रक्रिया सुरु भएको छ । मृतकका भाइ विजय चौधरीका अनुसार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी भतिजीको नि:शुल्क पढाइको व्यवस्था गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि परिवारले शव बुझ्न सहमति जनाएको हो ।

शव परीक्षणपछि चौधरीको अन्त्येष्टि परम्पराअनुसार गरिने परिवारले जनाएको छ ।
कैलाली कारागारमा शुक्रबार राति ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामा प्वाल पारेर ब्लक ‘बी’ का कैदीबन्दीमाथि आक्रमण गर्दा लागुऔषध मुद्दामा कैद भोगिरहेका चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.