धनगढी, २५ साउन । कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक घटनापछि प्रशासनले कैदीबन्दीको गणना सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, कति कैदीबन्दी उपचारका लागि बाहिरिएका छन् भन्ने यकिन गर्न गणना भइरहेको हो ।
उनका अनुसार कारागारभित्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । शुक्रबार ब्लक ‘ए’ का कैदीबन्दीले भित्तामा प्वाल पारेर ब्लक ‘बी ’का कैदीबन्दीमाथि आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।
घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने थप एक जनालाई पठाउने तयारी भइरहेको छ । अन्य घाइतेको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ ।
घटनापछि केही समयका लागि कैदीबन्दीहरूले थुनुवा कक्ष नियन्त्रणमा लिएर भित्रबाट ताला लगाएका थिए ।